सोती घटना: थुनछेक बहस सकियो, आदेश केहीबेरमा
काठमाडौं- देशभर चांसोको रूपमा हेरिएको रुकुम पश्चिमस्थित सोती घटनामा दुवै पक्षका वकिलहरूको बहस सकिएको छ । रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएको छ।
न्यायाधीशले बुधबार साँझसम्म थुनछेक आदेश गर्ने बताइएको छ । पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका छन्।
प्रतिवादी पक्षका आजका कानुनव्यवसायीहरू एक्काबहादुर पाण्डे, गणेश हमाल र भक्तबहादुर मल्लले बहस गरेका छन् । थुनछेक बहस शुक्रबारदेखि सुरु भएको थियो। सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए। न्यायाधिशले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये आदेश केहीबेरमै गर्ने बताइएको छ ।
सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको छ। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो।