औषधिले डुबायो रामदेवलाई: ७ वर्ष जेल सजाय हुनसक्ने - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

औषधिले डुबायो रामदेवलाई: ७ वर्ष जेल सजाय हुनसक्ने



एजेन्सी- विश्व कोरोना भाइरस संक्रमणको महामारीले थालिएको छ। यसबाट उत्पन्न विपद्सँग विश्व नै जुधिरहेका बेला पतंजलि योगपीठका योगगुरु बाबा रामदेवले त्यसको औषधिबारे गरेको दाबी भारतीय कानूनको गम्भीर उल्लंघन भएको पाइएको छ ।

मंगलवार पत्रकार सम्मेलन गर्दै योगगुरु रामदेवले कोरोनिल औषधिले कोरोना शतप्रतिशत निको हुने दाबी गरेका थिए । उनले कोरोनाका बिरामी ७ दिनभित्र शतप्रतिशत निको हुने दाबी गरेका थिए ।

बुधवारै भारतको आयुष मन्त्रालयले भने पतंजलिको दाबीलाई आधिकारिक नभएको स्पष्ट पारेको छ । मन्त्रालयले अनाधिकृत रुपमा गरिएको दाबी र प्रचारप्रसार रोक्न निर्देशन समेत दिएको छ ।

बाबा रामदेवको दाबीलाई भारत सरकारले इन्कार गरेसँगै भारतीय कानूनको गम्भीर उल्लंघन भएको चर्चा समेत शुरू भएको छ । भारतीय सञ्चारमाध्यम आजतक अनुसार विपद्का बेला कुनै व्यक्तिले गलत दाबी गर्नु डिजास्टर म्यानेजमेन्ट अथरिटी एक्ट २००५ अनुसार दण्डनीय अपराध हो । कोरोनिल औषधिबारे बाबा रामदेवले गरेको दाबीले कानूनी प्रावधानको उल्लंघन गरेको समेत जनाइएको छ ।

अन्तर्राष्ट्रिय अपराध अदालतका ड्युटी काउन्सिल दीपक आनन्द मसीहले कानूनले औषधि बनाउने लाइसेन्स दिने गरे पनि दाबी गर्न लाइसेन्स नदिने बताए । ‘कोरोना शतप्रतिशत निको हुने भनेर गरिएको दाबी विश्वव्यापी महामारीसँग सम्बन्धित भएकाले यसबारे विदेशमा समेत मुद्दा दर्ता हुनसक्छ,’ उनले भने, ‘डिजास्टर म्यानेजमेन्ट अथरिटी एक्ट २००५ अनुसार झूटा दाबी गर्नेलाई १–७ वर्ष जेल सजाय हुनसक्ने व्यवस्था छ ।’

भारतको आयुष मन्त्रालयले पतंजलिले गरेको दाबी आधिकारिक नभएको स्पष्ट पारेको छ । कोरोनाको शतप्रतिशत औषधि भनेर गरिएको दाबी आपत्तिजनक विज्ञापन कानून १९५४ को समेत उल्लंघन भएको आजतकले लेखेको छ ।

आयुष मन्त्रालयको विज्ञप्तिपछि बाबा रामदेवले ‘कम्युनिकेसन ग्याप’ भएको भनेर सफाइ दिएका छन् । उनले पतंजलिले औषधि प्रमाणीकरणका सबै जानकारी आयुष मन्त्रालयले दिइसकेको दाबी समेत गरेका छन् ।