ट्रम्पले चुनाव हार्ने पक्का: पहिलो गासमै ढुंगा
एजेन्सी- अमेरिकामा यसै वर्ष राष्ट्रपतीय चुनाव हुँदैछ। कोरोना भाइरसबाट अमेरिका निकै प्रभावित पनि बनेको छ। कोरोनाकै विषयलाई लिएर अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिबारे चर्चा सुरु भएको छ। गत शनिबार अमेरिकामा भएको राष्ट्रपति ट्रम्पको ओक्लोहामा र्याली निकै चर्चित बन्यो। र्यालीमा सोचेभन्दा ज्यादै न्यून उपस्थिति थियो। यसरी उनको चुनावी अभियानको पहिलो सभा नै निराशाजनक बन्न पुग्यो।
राष्ट्रपति ट्रम्पले र्यालीमा १० लाख मानिस सहभागी हुने दाबी गरेका थिए तर त्यसो भएन। टिकटक युजर्स र के कप फेन्सको सामाजिक सञ्जाल अभियानका कारण र्यालीमा सहभागिता कम भएको बताइएको छ। टिकट किनेका युवाले समेत र्यालीमा सहभागिता जनाएनन्।
टुल्साको बैंक अफ ओक्लोहामा सेन्टरमा १९ हजार मानिसका लागि बस्ने व्यवस्था गरिएको थियो। सेन्टरको बाहिर पनि सहभागीका लागि बस्ने व्यवस्था मिलाइएकोे थियो। तर न्यून उपस्थितिका कारण त्यसको एक भाग खारेज गरिएको थियो। र्यालीमा ६ हजारभन्दा बढी मानिसको उपस्थिति रहेको टुल्सा फायर ब्रिगेडले जानकारी दिएको हो।
आरोप प्रत्यारोप
ट्रम्पको चुनावी अभियानसँग सम्बद्ध मानिस भने सहभागीको संख्या त्योभन्दा बढी रहेको दाबी गर्छन। यस चुनावी अभियानका निर्देशक बे्रड पास्केर्लले र्यालीमा न्यून सहभागिता हुनुमा मिडिया र प्रदर्शनकारी दोषी रहेको आरोप लगाए।
रिपब्लिकन पार्टीका रणनीतिकार र ट्रम्पका आलोचक स्टिव स्मितका अनुसार धेरै अमेरिकी युवाले टिकटका लागि अनुुरोध गरे पनि उनीहरू र्यालीमा सहभागी भएनन्। तीमध्ये उनकी १६ वर्षीया छोरी र उनका सैयौं साथी पनि पर्छन्।
त्यसरी अतिरिक्त टिकट बुक गरेर र्यालीमा उपस्थिति नजनाउनेको संख्या भने यकिन भएको छैन। युवाहरूले यसो गर्नुमा जुन १२ को एक टिकटक भिडियो नै जिम्मेवार रहेको बताइन्छ। उक्त भिडियो सात लाखले लाइक गरेका थिए।
चर्किंदो विवाद
टिकटक भिडियो जुन १९ र्यालीको दिन भनेर घोषणा गरिएपछि पोस्ट गरिएको थियो। र्यालीको मिति घोषणापछि त्यहाँका आममानिसले असन्तुष्टि जनाएका थिए। किनभने सोही दिनलाई अमेरिकी स्वतन्त्रता दिवसका रूपमा मनाइने गरिन्छ। जुन १९ अमेरिकामा दासप्रथा अन्त्य भएको दिन हो।
ट्रम्पको र्याली भएकोे स्थानलाई लिएर पनि विवाद चर्किएको थियो। अमेरिकाको इतिहासमा टुल्सा राज्य एक यस्तो ठाउँ हो, जहाँ इतिहासमै ठूलो जातीय नरसंहार भएको थियो।
स्वास्थ्य चिन्ता
ट्रम्पको यो र्यालीलाई लिएर स्वास्थ्य चिन्ता पनि उत्तिकै बढेको थियो। धेरैले यो र्यालीमार्फत कोरोना फैलिन सक्ने आशंका गरेका थिए। अमेरिकामा कोरोना संकटको महामारीका बीच चलेको यो पहिलो र्याली थियो। कार्यक्रम सुरु हुनु केही घण्टाअघि आएको जानकारीअनुसार र्याली आयोजनामा संलग्न ६ जना व्यक्तिमा कोरोना पोजिटिभ पाइएको थियो। कतिपय मानिस बिनामास्क देखिएका थिए।
ओक्लोहामाको उक्त र्यालीमा ट्रम्पले करिब दुई घण्टा भाषण दिएका थिए। उनले आफ्नो भाषणमा कोरोना र जर्ज फ्लोयडको मृत्युपछि अमेरिकामा चर्किएको विरोध प्रदर्शनबारे पनि बोलेका थिए।–