अब काठमाडौं उपत्यका भित्रिने सबै अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब काठमाडौं उपत्यका भित्रिने सबै अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने



काठमाडौं- अब काठमाडौं उपत्यका भित्र आउने सबैले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । गृह मन्त्रालयले उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई यो निर्देशन दिएको हो ।

असार १ गतेबाट लकडाउन खुकुलो भएपछि उपत्यका छिर्नेको संख्या ह्वात्तै बढेको छ । बाहिरबाट आउनेको संख्या बढेसंगै कोरोना संक्रमणको जोखिम पनि एकाएक बढेको गृहको निष्कर्ष छ ।

लकडाउन खुकुलो भएको एक सातामा ५४ हजार मानिस उपत्यका भित्रिएको रेकर्ड छ। तर, लकडाउन खुकुलो भएको १० दिन पुग्न लाग्दासम्म लुकीछिपी उपत्यका भित्रिने क्रम पनि बढ्दै गएको छ।

उपत्यका प्रवेश गर्ने क्रम बढेसँगै भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको हो ।

कोठा भाडामा लिएर बस्दै आएकाहरु फर्किएसँगै घरधनी र वडाले समेत पीसीआर परीक्षण गरेको रिपोर्ट माग्न थालेको छ। दैनिक करिब एक हजारभन्दा बढी मानिस परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन्।

यसरी परीक्षण गराउनेको भिड लागेपछि गृहले सबैको परीक्षण गर्न सम्भव नभएको देखेर उनीहरुलाई होम क्वारेन्टाइनमा राख्न भनेको हो।

हाल उपत्यकामा प्रवेश गर्ने मानिसहरु निर्वाध रुपमा हिँडडुल गरिरहेका छन्। बाहिर जिल्लाबाट फर्किएकाहरुले पसलदेखि होटल समेत खोलिसकेका छन्।