अब अमेरिकामा ग्रिन कार्ड र वर्किङ भिसा प्रतिबन्ध
काठमाडौं- अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ ।
कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
सोमबार अमेरिकी सरकारले गरेको यो निर्णयबाट उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, मध्यम र उच्च तहमा रहेर काम गर्ने कामदारहरु प्रभावित हुने भएका छन् ।
नयाँ नियमका कारण अमेरिकामा काम गर्ने झण्डै पाँच लाख २५ हजार विदेशी प्रभावित हुने बीबीसीले जनाएकाे छ । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै एक लाख ७० हजार विदेशी कामदार छन् ।
सोमवारबाट लागू गरिएको नियम त्यहाँ रहेर काम गरिरहेका र अमेरिकी भिसा म्याद भएकामाथि लागू हुने छैन। अमेरिकामा अध्ययनका लागि गएका विद्यार्थीहरुले पाउने अप्सनल प्राक्टिकल ट्रेनिङलाई भने यसले कुनै असर नपर्ने बताइएको छ।