नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्न बन्द गरौँ : विप्लव - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्न बन्द गरौँ : विप्लव



काठमाडौँ – सरकारद्वारा प्रतिवन्ध लगाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरी भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती रोकिनु पर्ने माग गरेका छन् ।

गोर्खा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवाद र नेपाली सामन्ती राणाकालीन सम्झौताको निरन्तरता रहेकाले भर्ती रोकिनु पर्ने विप्लवले माग गरेका हुन्।

विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि लड्न पठाउने चलन २१ औँ शताब्दीमा कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एमव् लज्जास्पद विषय हो । यही कारणले नेपाली जनताले लामो समयदेखि गोर्खा भर्ती खारेजीको माग गर्दै आएका छन् ।’

हालै भारत र चीनबिच गलवान उपत्यकामा भिडन्त हुँदा २० भारतीय सैनिक मारिएपछि गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरुलाई बिदा कटाएर फिर्ता बोलाएको छ । विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘गोर्खा रेजिमेन्टलाई सिमानामा पठाउने तयारी देखिन्छ तर दुई देशका बिचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित र स्वीकार्य छैन ।’

नेपाली युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गरी गोर्खा भर्ती रोक्नु पर्ने माग नेकपा महासचिव विप्लवले गरेका छन् । उनले नेपाली युवाहरुका लागि स्वदेशमै रोजगारीका अवसर श्रृजना गर्न सरकारसँग माग गरेका छन् । विप्लवले भाडाका लडाकु नबन्न पनि युवाहरुलाई विशेष अपिल गरेका छन् ।

‘हाम्रो पार्टी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ’, विप्लवले भनेका छन् ।