वालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको बैठक: के पाक्दैछ खिचडी ?
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताबीच एमसीसीको जसरी पनि पास गर्ने छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विवादित विषयमा सहमति जुटाउन अहिले छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउने प्रयास स्वरुप छलफल गरेका हुन् । बालुवाटारमा सत्ता र प्रतिपक्षी नेताहरुबीच अहिले छलफल जारी रहेको बताइएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि, नेताहरु कृष्णप्रसाद सिटौला, डा।मिनेन्द्र रिजाल र ज्ञानेन्द्र बहादुर कार्की सहभागी भएका छन् ।
नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा२०७५ साल भदौ ५ गतेदेखि विचाराधीन छ । बुधबारमात्रै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा ५ दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएको थियो ।
नागरिकताका विषयमा काँग्रेस सांसदहरु विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने पक्षमा उभिएका छन् भने नेकपाका सांसदहरु सात वर्षअघि नागरिकता दिन नहुने पक्षमा छन् । छलफलमा नागरिकता विधेयकबाहेक एमसीसी र कोरोना रोकथामको विषयमा कुराकानी भइरहेको बताइएको छ ।