सरकारबारे छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ: वामदेव गौतम - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सरकारबारे छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ: वामदेव गौतम



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको साथमा नरहेको बताएका छन् । गौतमको सचिवालयबाट जारी गरिएको नोटमा सरकारसंग धेरै असन्तुष्टि भएको स्पस्ट पारेका छन् ।

उनले पछिल्लो समय पेचिलो मुद्दा बनेको अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्ट्याएका छन् ।

गौतमका सहयोगी विश्वमणि सुबेदीले विहिबार ३ बुँदे प्रष्टिकरणसहितको नोट जारी जारी गर्दै उनेले केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति भएको बताएका छन् । गौतमले पार्टीभित्रको पछिल्ला अन्तरबिरोध र मुख्य मुद्दाहरुमा आफ्नो अवस्था स्पष्ट पारेका हुन् ।

नोटमा लेखिएको छ, ‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनु हुन्न ।’

सचिवालयका तर्फबाट गौतमका प्रेस संयोजक विश्वमणी सुबेदीले जारी गरेको नोटमा अगाडी लेखेका छन्, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।’

गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार भएको भन्दै उनको सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस् ।’

प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमा भेट गरेका गौतमले एमसिसी संशोधनसहित पारित हुनुपर्ने आफ्नो अडान रहेको भन्दै यथास्थितिमै पारित गर्ने कुरामा आफ्नो साथ नरहने प्रष्ट पारेका थिए । लामो समयदेखि प्रधानमन्त्री ओलीले आफूलाई धोका दिँदै आएको भन्दै गौतम उनीसँग रुष्ट छन् ।