काठमाडौं, ललितपुर र भक्तपुरमा फेरि थपिए कोरोना संक्रमित
काठमाडौं- हालसम्म कम जोखिम देखिएको काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा बताए अनुसार उपत्यकाका तीन जिल्लामा ६ जना थपिएको जनाएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकामा थप ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएकाे बताए। उनका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ जना पुगेको छ। जसमा १ हजार ७२ पुरुष ११४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।