प्रधानमन्त्री भन्छन: नेपालमा पढेका मान्छे मैले त्यति भेटिनँ, हल्लाका पछाडी दौडिनेमात्रै छन् - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रधानमन्त्री भन्छन: नेपालमा पढेका मान्छे मैले त्यति भेटिनँ, हल्लाका पछाडी दौडिनेमात्रै छन्



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एममिसी सम्झौताबारे धेरै हल्ला चलेको बताएका छन्।

‘अहिले केही केहीले हल्ला चलाएका छन्। पढ्न अल्छी लाग्छ कि क्या हो’, प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा भने, ‘एमसिसी पढेका मान्छे मैले त्यति भेटिनँ। सम्झौता खोजेर ल्याएर पढे हुन्छ। पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भन्ने कस्तो चिन्तन।’

उनले खुट्टाले हिँड्न छाडेर टाउकाले टेकेर, हातले टेकेर, खुट्टा ठाटा पारेर हिँड्ने अभ्यास जरूरी नरहेको बताए।

‘खुट्टाले टेकेर हिँड्ने भनेको त्यसमा जे प्रबन्ध छ त्यसमा ठिक-बेठिक यहाँ-यहाँ छ भनेर भन्नु एउटा कुरा हो। लहैलहैमा लौ अमेरिकी सेना आउने भयो कहाँ पढ्नछन्, के पढ्छन् अचम्म लाग्छ।’

उनले कागले कान लगेको भए छाम्न सुझाए।

‘कागले कान लैजाँदा त दुख्छ होला नि, अलिकति दुखेको छैन भने होइन होला भन्ने त थाहा पाउनु पर्‍यो नि’, ओलीले भने, ‘दुखेको छैन भने पनि छाम्नु पर्‍यो नि कान छ कि छैन यहाँ भनेर। दुख्यो दुखेन पनि वास्ता नगर्ने, छ कि छैन पनि नछाम्ने अनि लहैलहैमा कुद्ने यो प्रवृत्ति बडो अचम्म लाग्छ मलाई।’

उनले एमिसिसीको विषय सडक र अन्य छलफलको विषय बनेको उल्लेख गरे।

‘अहिले सडकको पनि विषय बनेको छ। अन्तको पनि विषय बनेको छ। तर पढे हुन्थ्यो नि। सम्झौतामा के लेखको छ’, ओलीले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो। यो देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो।’