अब नुनदेखि सुनसम्म नेपालमै: खानी उत्खनन गर्ने सरकारको यस्तो छ तयारी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

अब नुनदेखि सुनसम्म नेपालमै: खानी उत्खनन गर्ने सरकारको यस्तो छ तयारी



काठमाडौं- मुलुकको दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ।

खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरेको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मुलुकका विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न प्रक्रिय स्वरूप सूचना आह्वान गरिएको जानकारी दिए।

दसमध्ये चार ठाउँमा उत्खनन (माइनिङ) गर्न र बाँकी ठाउँमा अन्वेषण (प्रोसपेक्टिङ)का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको उनले बताए।

अन्वेषणको अनुमति पत्रका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको छ। उत्खननका लागि दसदेखि तीस वर्षसम्म र अन्वेषणका लागि दुई वर्ष प्रदान गरिने महानिर्देशक घिमिरेले जानकारी दिए।

त्यसैगरी तामा खानी तीनवटा तथा एक/एकवटा सुन, केओलिन र कोइला खानीका अन्वेषणका लागि अनुमति पत्र प्रदान गर्न सूचना आह्वान गरिएको छ। विभागका अनुसार रोल्पाको सुनछहारी गाउँपालिकास्थित किमासेपोझार वनमा ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सुनखानीको अन्वेषण गर्न सूचना आह्वान गरिएको छ।

यो क्षेत्रमा करिब ८० हजार टन सुनको कच्चा पदार्थ रहेको अनुमान छ ।
त्यसैगरी धादिङ, मकवानपुर र उदयपुरमा रहेका तामाखानी र पाल्पामा रहेको कोइला खानीको अन्वेषण गर्न अनुमति पत्र प्रदान गर्न सूचना आह्वान गरिएको छ।

त्यसैगरी सल्यानमा पाँच वर्गकिलोमिटरमा फैलिएको चुनढुङ्गाको उत्खनन, धादिङमा ५।३२ वर्गकिलोमिटरमा फैलिएको चुनढुङ्गा खानी, मुस्ताङमा दुई वर्गकिलोमिटर क्षेत्रमा फैलिएको नुन खानी उत्खनन गर्न अनुमति लिनका लागि सूचना आह्वान गरिएको विभागले जनाएको छ।