सरकारलाई सांसदको प्रश्न: यो जहाज भाडा हो की रत्नपार्कको कपडा व्यापार ?
काठमाडौं– बुधबार राष्ट्रिय सभामा सांसदहरूले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकारले किन अलमल गरिरहेको भनेर प्रश्न गरेका छन्।
अप्ठ्यारो अवस्थामा रहेका श्रमिकहरूलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर किन ल्याइएन र जहाज भाडामा किन पटक पटक बार्गेनिङ गरियो भन्ने प्रश्न अधिकांशले उठाएका छन्।
सभामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रश्न गर्दै सांसद अनिता देवकोटाले अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारमा ढिला सुस्ती र जहाजभाडा फेरबदलको विषयलाई समेटेर प्रश्न गरेकी हुन्। उनले भनिन्, ‘२४ घण्टामा ३ पटक जहाज भाडा फेर्ने कुन अन्तर्राष्ट्रिय मापदण्ड हो? वा रत्नपार्कको कपडा बार्गेनिङ?’
अर्का सांसद रमेश जंग रायमाझिले ऐनमा अप्ठ्यारोमा परेका श्रमिकहरूलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्ने व्यवस्था गरेपनि सरकारले किन तीन गुणा बढी भाडा असुल्यो भन्दै प्रश्न गरेका छन्। सरकारले पटक पटक भाडा तोकेर पनि स्वदेश फर्काउन किन अलमल गरेको भन्दै उनले जवाफ माग गरेका थिए।
अर्का सांसद प्रकाश पन्तले समेत विदेशमा अड्किएका रोइकराई गरेका श्रमिकहरूलाई स्वदेश फर्काउन किन ढिलाइ भयो भन्ने प्रश्न उठाए।
सभामा प्रश्न राख्दै उनले भने, ‘सरकार किन अलमलमा परिरहेको छ? यसमा परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, कोरोना संकट व्यवस्थापन केन्द्रले सहयोग नगरेर हो कि श्रम मन्त्रालय आफैं अलमलिएको हो?’
सांसद पन्तले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम किन परिचालन गरिएन‚ भाडा तिर्नै नसक्ने अवस्थाका श्रमिकहरूलाई कसरी ल्याउने व्यवस्था छ भनेर समेत प्रश्न थपेका थिए।
यी प्रश्नको जवाफ दिँदै श्रममन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारो परेका श्रमिकहरूलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत ल्याउने विषयमा पटक पटक छलफल गरेको बताए।
वैदेशिक रोजगा ऐनमा नै कोषमा योगदान गरेका श्रमिकहरू महामारी वा अन्य कारणले समस्यामा परी आफ्नै खर्चमा स्वदेश फर्कन सक्ने अवस्था नभएमा कोषको रकम परिचालन गर्न सकिने व्यवस्था रहेकाले त्यसैअनुसार कामहरू सुचारु गरिसकेको बताए।
जहाज भाडा हेरफेर सम्बन्धमा उठेको प्रश्नमाा जवाफ दिँदै मन्त्री यादवले अप्ठ्यारोमा परेकाहरूलाई आर्थिक भार कम परोस् भनेर सरकारले पटक पटक समन्वय गरी भाडा घटाएको बताए।