भारतीय पूर्वमन्त्रीले भने: भारत सरकारको बेबकुफीले नेपाल टाढियो - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

भारतीय पूर्वमन्त्रीले भने: भारत सरकारको बेबकुफीले नेपाल टाढियो



काठमाडौं- भारतीय पूर्वमन्त्री मणिशंकर अय्यरले भारतको असंवेदनशील कूटनीतिले चरमविन्दु पार गरेपछि बल्ल नेपालले नक्शा जारी गरेको भन्दै आफ्नै सरकारको आलोचना गरेका छन् ।

दी विकमा एक लेख प्रकाशित गर्दै उनलेसीमा समस्या समाधानका लागि नेपालले पटक–पटक आग्रह गर्दा पनि भारतले प्रतिक्रिया नदिएर असंवेदनशील कूटनीति प्रकट गरेको आरोप पनि लगाएका छन् ।

पूर्वमन्त्री अय्यरले लेखेका छन्, ‘सन् २०१९ को अगस्टमा भारतीय विदेशमन्त्री एस जशंकरले दुबै मुलुकको सहमतिमा गठन भएको परराष्ट्र सचिवस्तरको ‘संयुक्त संयन्त्र’ मार्फत बाँकी रहेका सीमा समस्या समाधान गर्ने सहमति गरेका थिए । तर, नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित भनिएको क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर नयाँ राजनीतिक नक्शा प्रकाशित गरेर नेपालसँगको वार्ताको विषयलाई ओझेलमा पार्यो ।’

भारतले प्रकाशनको गरेको नयाँ नक्शाप्रति नेपालले आपत्ति जनाउँदा जनाउँदै उक्त भूमि आफ्नै भन्दै भारत ‘विज्ञप्ति आक्रमण’ मा उत्रिएको पनि उनले उल्लेख गरेका छन् । वार्ताका लागि नेपालले गरेको प्रस्तावमा कुनै प्रतिक्रिया नदिँदै भारतले उक्त क्षेत्रमा बनाइएको बाटो उद्घाटन गरेपछि थप आक्रोशित बनेको नेपालले नयाँ नक्शा जारी गरेर संविधान नै संशोधन गरेको उनले जनाएका छन् ।

‘तर, भारतले नेपालको नयाँ नक्शा कुनै ऐतिहासिक तथ्य र प्रमाणका आधारित नभएको र त्यस्तो कार्टोग्राफिक आक्रमणबाट टाढा रहन प्रवक्तामार्फत तर्साउने काम गर्यो । त्यसैगरी भारतीय सेना प्रमुखले समेत नेपालले अरुको उक्साहटमा भारतविरुद्ध गतिविधि बढाएको आरोप लगाए ।’ अय्यरले लेखेका छन् ।

के आफ्नो सानो छिमेकीसँग संवेदनशील कूटनीतिक सम्बन्धहरू सञ्चालन गर्ने तरिका यही हो भन्दै भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वमन्त्री अय्यरले प्रश्न गरेका छन्, ‘यदि यो कोभिड समय हो भने पनि दुई परराष्ट्र सचिवहरूले स्काइप वा जुममा कुरा गर्न किन सक्दैनन् ?’