प्रधानमन्त्रीकै निजी चिकित्सक दिव्या सिंहलाई आइओएमको डीन बनाउने खेल - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

प्रधानमन्त्रीकै निजी चिकित्सक दिव्या सिंहलाई आइओएमको डीन बनाउने खेल



काठमाडौं- प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्या सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनका लागि सिफारिश गरिएको छ ।

डीन नियुक्तिका लागि गठित सर्च कमिटीले प्रधानमन्त्रीको निजी चिकित्सक सिंहसहित तीन जनालाई चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनका लागि सिफारिश गरेको हो ।

डिनका लागि सिफारिश गरिएकामा डा. प्रदिप वैद्य, डा. दिव्या सिंह शाह र डा. उत्तम श्रेष्ठ छन् । प्रा.डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले तीन जनाको नाम सिफारिश गरेको हो ।

प्राध्यापक डा. जगदीश अग्रवालको चार बर्षे कार्यकाल सकिएसँगै रिक्त रहेको डीनमा तीन जनाको नाम सिफारिश गरिएको हो । डीन नियुक्तिका लागि त्रिवि उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले आईओएमका प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गत जेठ २३ गते तीन सदस्यीय सिफरिश समिति गठन गरेका थिए ।

त्रिवि कार्यकारी परिषद्ले तीन जना मध्ये एक जनालाई डीनमा नियुक्त गर्ने छन् । डा. सिंह, मिर्गौला रोग विशेषज्ञ एवं प्रधानमन्त्रीको निजी चिकित्सक हुन् । डा. श्रेष्ठ मुटुरोग विशेषज्ञ एवं मनमोहन काडियोथेरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक हुन् । प्रा .डा. प्रदिप वैद्य त्रिवि शिक्षण अस्पतालको सर्जरी विभागमा कार्यरत छन् ।

डा. सिंहलाई डीन बनाउने खेलअन्तर्गत सिफारिश कमिटी गठनदेखि नाम सिफारिशसम्म भएको आइओएमकै चिकित्सकहरुले बताएका छन् ।