भारत निकै जटिल मोडमा : संक्रमण तिब्र, एक दिनमै २ हजार बढीको मृत्यु - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

भारत निकै जटिल मोडमा : संक्रमण तिब्र, एक दिनमै २ हजार बढीको मृत्यु



काठमाडौं- कोरोना संक्रमणको निकै जटिल मोडमा भारत पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा विश्वमा सबैभन्दा बढीको मृत्यु भएको छ । लकडाउन खुकुलो बनाएसँगै भारतमा कोरोना संक्रमण र मृत्युदर ह्वातै बढेको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको वल्र्डओमिटरले जनाएको छ । पछिल्ला २४ घण्टामा भारतमा २ हजार ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ । यो बुधबार बिहान साढे ६ बजेसम्मको तथ्याङ्क हो ।

मंगलबार भारतमा ११ हजार एक सय ३५ जनामा संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ५४ हजार एक सय ६१ पुगेको छ । पछिल्लो समय संक्रमणदर उच्च रहेका ब्राजिल, अमेरिका, बेलायतलगायतका देशको भन्दा धेरै मृत्यु मंगलबार भारतमा भएको छ ।

ब्राजिलमा एक हजार तीन सय ३८ जना, अमेरिकामा आठ सय ४६, मेक्सिकोमा चार सय ३९, बेलायतमा दुई सय ३३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
विश्वभर गएको २४ घण्टामा कोरोना संक्रमणबाट ६ हजार पाँच सय ८९ जनाले ज्यान गुमाएका छन् ।

योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ४५ हजार एक सय ८५ पुगेको छ । विश्वभर अहिलेसम्म संक्रमितको संख्या ८२ लाख ५१ हजार ६२ पुगेको छ । गएको २४ घण्टामा विश्वभर एक लाख ४२ हजार तीन सय ९५ जनामा संक्रमण पुष्टि भएको छ ।