लद्दाख भिडन्तमा मारिने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्ने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

लद्दाख भिडन्तमा मारिने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्ने



एजेन्सी- भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय संचारमाध्यमहरूका दैनिक भास्करक अनुसार लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो ।

यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो ।

त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् ।

अन्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ भने भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेकाले विवाद भएको चीनको भनाइ छ।

चिनियाँ विदेश मन्त्रालयले घटनामा प्रतिक्रिया दिँदै भनेको छ, “चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो ।”

विगत लामो समयदेखि भारत र चीनबीच सीमामा तनाव हुँदै आएको भएपनि झडपमा तीन जनाको मृत्यु भएको यो पहिलो घटना हो।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको युद्धमा भारत पराजित भएको थियो। सो समयदेखि भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आरोप लगाउँदै आइरहेको छ।

पटकपटक भारतीय चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा झडपहरू भइरहेको भएपनि वार्ताबाट समाधान निस्कन सकेको छैन ।