लद्दाखमा भारत–चीनबीच भिडन्त, तीन जना भारतीय सैनिक मारिए
काठमाडौं- भारत र चीनबीच जारी सीमा विवादले उग्र रुप लिएको छ । लद्दाखमा भारत र चीनका सेनाबीच भिडन्त भएको छ।
भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ।
गएराति पूर्वी लद्दाखको गलवान क्षेत्रमा दुवै पक्षका सैनिकबीच भिडन्त भएको भारतीय मिडियाले बताएका छन् यसलाई भारतीय सेनाले समेत पुष्टि गरेको छ ।
सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।
पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।