प्रधानमन्त्री ओलीले संसद र जनतालाई वास्तविकता लुकाएको भारतको दाबी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रधानमन्त्री ओलीले संसद र जनतालाई वास्तविकता लुकाएको भारतको दाबी



काठमाडौं- नेपालमा नयाँ नक्शा सर्वसम्मत रूपमा पारित भएपछि भारतीय मिडियाहरूले विभिन्न खाले दाबी गर्दै आइरहेका छन । भारतमा यतिबेला राजनीतिज्ञ, मिडिया र जानकारहरूले आफ्ना- आफ्ना राय राखिरहेका छन ।

यस्तैमा भारतको एक प्रतिष्ठित पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई सूचना लुकाएको भन्दै दाबी सहित समाचार छापेको छ । नेपाल–भारत सीमा विवादबारे भारतसँग वार्ताको पहलबारे नेपालको संसद र पार्टीका अन्य नेतालाई ओलीले वास्तविकता जानकारी नगराएको दावी सो समाचारमा गरिएको छ ।

स्रोतलाई उद्धृत गर्दै द हिन्दू अखबारले जनाएअनुसार प्रधानमन्त्री ओलीले देशको संसद र अन्य नेतालाई वार्ताका सन्दर्भमा भारतीय धारणाबारे वास्तविक जानकारी गराएका छैनन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादका सन्दर्भमा भारतसँग वार्ताको प्रस्ताव गरे पनि भारतले वार्ताका लागि चासो नदेखाएको आरोप लगाउँदै आएको छ ।

भारतीय स्रोतलाई उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘जब संशोधन प्रस्ताव संसदमा पेश गरियो, त्यसअघि नै भिडियो कन्फरेन्सका माध्यमबाट वार्ताको प्रस्ताव गरिएको थियो ।’

प्रधानमन्त्री ओलीको एकतर्फी कदमले कठिन स्थिति सिर्जना गरेको र भविष्यमा कुनै प्रकारको वार्ताको परिणामलाई ‘पूर्वाग्रही’ गरिदिएको भारतीय पक्षको धारणा छ ।

उक्त अखबारले समाचारमा नेपालका अधिकारीलाई पनि यसबारे सोधेको छ । नाम नखुलाइएका ती अधिकारीले भने भारतबाट वार्ताको प्रस्ताव नआएको दावी गरेका छन् ।

समाचारमा भारतले वार्ताको प्रस्ताव कहिले गरेको थियो भन्नेबारे खुलाइएको छैन । तर भारतले वार्ताका लागि प्रस्ताव पठाएको विषयलाई लुकाएर प्रधानमन्त्री ओलीले संशोधित नक्सालाई संविधानमा समेट्न संविधान संशोधन गराउन अग्रसर रहेको समाचारमा दावी गरिएको छ ।

प्रतिनिधिसभाले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई समेटेर देशको निशान छाप संशोधन गर्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिसकेको छ ।