यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था



काठमाडाैं- विश्वभर कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ। विभिन्न देशमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ८१ लाख ८ हजार पुगेको हो।

हिजो ब्राजिलमा २३ हजार, अमेरिकामा २० हजार, भारतमा १० हजार, रसियामा ८ हजार, पेरुमा ३ हजार, इरानमा २ हजार भन्दा धेरै संक्रमित थपिएका छन्।

मृतकको संख्या ४ लाख ३८ हजार ५ सय नाघेको छ। ब्राजिलमा हिजो ७ सय २९, अमेरिकामा ४ सय २४, भारतमा ३ सय ९५, मेक्सिकोमा २ सय ६९, रसियामा १ सय ४३, जनाको मृत्यु भएको छ।

विश्वभर कूल संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात झण्डै ४२ लाख मानिस उपचारपछि स्वस्थ भएका छन्। यसैबीच, चीनमा फेरि कोरोना संक्रमित भेटिन थालेपछि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइएको छ।

राजधानी बेइजिङमा कोरोना संक्रमित बढ्दै जान थालेपछि विभिन्न जिल्लामा स्कूलहरु बन्द गरिएको छ भने मानिसहरुलाई कोरोना परीक्षण गर्न आग्रह गरिएको छ। चीनबाटै सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ।

चीनले लामो समय लकडाउन गरेपनि संक्रमित शून्यमा झरेपछि क्रमशः सबै क्षेत्र खुला गर्दै लगेको थियो। मानिसहरुमा कोरोनाको दोस्रो लहरको संक्रमण आशंका गरिएको बिबिसीले उल्लेख गरेको छ।

सुपरमार्केटहरुमा फेरि ज्वरो नाप्न सुरु गरिएको छ भने खेल र मनोरञ्जन केन्द्रहरु बन्द गरिएको छ।