उपत्यकाभित्रै बम बनाउने विप्लवका दुई कारखाना : के हुँदैछ यस्तो ? - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

उपत्यकाभित्रै बम बनाउने विप्लवका दुई कारखाना : के हुँदैछ यस्तो ?



काठमाडौं- सुरक्षाको दृष्टिले देशको सबैभन्दा सुरक्षित आनिने काठमाडौं उपत्यकामै सरकारले प्रतिवन्ध लगाएका विप्लव समुहका दुई बम कारखाना भेटिएका छन् । प्रहरीले काठमाडौं उपत्यकाका दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बम कारखाना फेला पारेको हो।

ललितपुर महानगरीय प्रहरी परिसरका अनुसार ललितपुर महानगरपालिका-११, इखाछे र काठमाडौंको तार्केश्वर नगरपालिका–११, नेपालटारमा विप्लव समूहले बम बनाउने गरेको कारखाना फेला पारिएको हो।

प्रहरीको खोजीको सूचीमा रहेका विप्लव नेकपाका जिल्ला सदस्य श्याम भनिने सानुराजा बज्राचार्यलाई ललितपुर-११, तापाहिटीमा शुक्रबार साँझ पक्राउ गरिएपछि बम बनाउने कारखाना पत्ता लागेको एसपी राईले बताए।

‘गत पुस १९ गते गावाहालमा उनले बम राखेयता हामीले उनलाई खोजिरहेका थियौं,’ एसपी राईले भने, ‘त्यस क्रममा उनलाई शुक्रबार साँझ पक्राउ गर्न सफल भयौं, त्यसपछि अनुसन्धान गर्दै जाँदा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला पारेका छौं।’

उनका अनुसार बज्राचार्यको घर ललितपुर-११, इखाछे हो। पक्राउ परेलगत्तै उनको घर खानतलासी गर्दा १ थान पेस्तोल, ३ थान ग्रिनेटसहित विप्लव नेकपाका विभिन्न दस्तावेज बरामद भयो भने थप अनुसन्धान गर्दै जाँदा उनले काठमाडौंको तार्केश्वर-११, नेपालटारमा पनि कोठा लिएको पत्ता लाग्यो। त्यहाँबाट झन् ठूलो मात्रामा बम बनाउने विस्फोटक पदार्थ बरामद (विवरण तल छ) भएको एसपी राईले जानकारी दिए।