के कोरोनाको खोप बनेको हो ? युरोपले गरेको सम्झौता के हो ?
काठमाडौं- युरोपेली देशहरुले कोरोना भाइरसको खोप तयार भए लगत्तै कम्तिमा ४० करोड डोज आफूहरुले पाउने गरी सम्झौता गरेका छन् ।
युरोपेली देशहरुको प्रतिनिधि संस्था र बेलायती–स्वीडिस औषधि उत्पादक बहुराष्ट्रिय कम्पनी एस्ट्रोजेनेकाबिच शनिबार भएको सम्झौता अनुसार कोरोना भाइरसको खोप बने लगत्तै युरोपेली देशले ४० करोड डोज प्राप्त गर्ने छन् ।
जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्डसको नेतृत्वमा रहेको युरोपको इन्क्लुसिभ भ्याक्सिन अलायन्स र एस्ट्रोजेनेकाबिच सम्झौता भएको हो ।
सम्झौता अनुसार खोप तयार भए लगत्तै कम्पनीले ४० करोड डोज युरोपलाई प्रदान गर्ने छ । सो खोप युरोपियन युनियनका देशहरुमा वितरण गरिने छ ।
एस्ट्रोजेनेकाले कम्पनीबाट हुने खोपको उत्पादन क्षमता बढाउने प्रयास गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप तयार भएपछि आफूहरुले बिना कुनै नाफा आपूर्ति गर्ने जनाएको छ ।
यो वर्षको अन्त्यसम्ममा खोप तयार भएर आपूर्ति सुरु हुने अपेक्षा रहेको एस्ट्रोजेनेकाले बताएको छ । कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले सम्झौता अनुसार सबै कुरा अहिले सोचिजसरी अघि बढ्यो भने युरोपका करोडौँ मानिसले खोप प्राप्त गर्ने सुनिश्चित भएको बताए ।
कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा हालसम्म प्राप्त तथ्यांकका तथ्यहरुका आधारमा प्रभावकारी खोप चाँडै नै तयार हुने अपेक्षा गर्न सकिने उनको भनाई छ ।
युरोपका सबै देशमा खोप समान रुपले पुगोस् भन्नका लागि सो सम्झौता गरिएको र भविष्यमा पनि सो क्रममा जारी रहने पास्कलको भनाई छ ।
तत्कालका लागि ४० करोड डोज खोपका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्डसले पैसा दिने छन् । तर अरु देश पनि सो अलायन्समा सामेल हुन सक्ने जनाइएको छ ।
कोरोना भाइरसविरुद्धको खोप अहिले नै तयार भने भएको छैन । विश्वभरका वैज्ञानिकहरु तीव्र गतिमा खोप बनाउनका लागि प्रयासरत छन् ।
कम्तिमा १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको चरणमा छन् । केही खोपहरु भने दोस्रो चरणको परीक्षण पूरा गरेर तेस्रो चरणको बृहत परीक्षणको संघारमा पुगेका छन् ।
प्रारम्भिक नतिजामा संभावित खोपहरु सुरक्षित र प्रभावकारी देखिएकाले यो वर्षको अन्त्य वा आउँदो वर्षको सुरुमा खोप तयार हुने अपेक्षा वैज्ञानिकहरुको छ ।
एस्ट्रोजेनेकासँग अमेरिकाले यसअघि नै सम्झौता गरेको थियो । सो सम्झौता अनुसार कम्पनीमा अमेरिकाले एक अर्ब २० करोड डलर लगानी गर्ने छ र खोप बने लगत्तै कम्पनीले अमेरिकालाई ३० करोड डोज खोप उपलब्ध गराउने छ ।
सुरुवाति परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकको टोलीले बनाइरहेको खोपको उत्पादन इजाजत एस्ट्रोजेनेकासँग रहेको छ । सो खोपको नाम एजेडडी १२२२ रहेको छ ।
सो खोप सुरुका दुई चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएपछि बेलायतको ब्रिटिस मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।