मतपेटिका: जापानले दिन नसकिने जनायो, भारतमा छैन, कहाँ पाइन्छ भन्ने नै थाहा छैन - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

मतपेटिका: जापानले दिन नसकिने जनायो, भारतमा छैन, कहाँ पाइन्छ भन्ने नै थाहा छैन



काठमाडौं, १४ फागुन ।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ । आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन् ।

३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई देशभरमा रहने २१ हजार बुथका लागि झन्डै ८५ हजार मतपेटिका आवश्यक पर्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आयोगसँग भएका करिब सात हजार मतपेटिका बिग्रिएका छन् । त्यसैले नयाँ र अपुग मतपेटिका जुटाउन आयोगलाई हम्मे पर्ने देखिएको छ ।

आयोगका अनुुसार हरेक जिल्लामा १५ वैशाखसम्म मतपेटिका अनिवार्य रूपमा पु¥याउनुपर्छ, तर त्यसका लागि समय निकै कम छ ।

यसअघिका निर्वाचनमा नेपालले जापानबाट मतपेटिका ल्याउँदै आएको थियो । यसपटक भने जापानले निर्वाचनको समय अवधि निकै कम भएकाले मतपेटिका दिन नसकिने स्पष्ट पारेपछि आयोगलाई समस्या भएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले मतपेटिका जुटाउन आयोगलाई कठिन हुने देखिएको बताए । ‘२५ हजार मतपेटिका समयमा नै नेपाल ल्याउने गृहकार्यमा गम्भीरतापूर्वक जुटेका छौँ, तर यो काम निकै कठिन र चुनौतीपूर्ण देखिएको छ,’ मैनालीले भने ।

ठूलो संख्यामा मतपेटिका अभाव हुन सक्ने भएकाले आयोगका पदाधिकारीले केही दिनअघि मात्रै जापानी राजदूतलाई आयोगमा नै बोलाएर मतपेटिका उपलब्ध गराउन आवश्यक पहल गर्न आग्रह गरेका थिए । तर, राजदूतले समय निकै कम भएकाले उपलब्ध गराउन कठिन हुने बताएका थिए ।

‘जापानबाट ल्याउन कठिन हुने देखिएपछि अब भारत तथा अन्य कुन देशबाट ल्याउन सकिन्छ भन्नेबारेमा छलफल थालेका छौँ,’ सचिव मैनालीले भने । उनका अनुसार भारतबाट ल्याउन पनि समस्या छ । भारतले आफ्नो देशमा हुने निर्वाचनमा प्रायः इभिएम (इलेक्ट्रोनिक भोटिङ मेसिन)कै प्रयोग गर्ने भएकाले त्यहाँ मतपेटिकाको चलन नै हराएको छ । ‘अन्य कुन देशमा पाइन्छ र कसरी चाँडैभन्दा चाँडै ल्याउन सकिन्छ भन्नेमा हामीले सोधखोज थालेका छौँ, तर समस्या जटिल नै देखिएको छ,’ उनले भने ।

डेढ करोड मतपत्र जनक शिक्षा सामग्रीमै छापिने

मतपत्र छाप्ने विषयमा छलफल गर्न निर्वाचन आयोगका पदाधिकारी शुक्रबार जनक शिक्षा सामग्री केन्द्र पुगेका थिए । उनीहरूले एक करोड ५० लाख मतपत्र निर्धारित समयमा छाप्न सक्ने वा नसक्नेबारेमा केन्द्रका अधिकारीहरूसँग जानकारी लिएका छन् ।

केन्द्रका प्रबन्ध निर्देशकलगायतका कर्मचारीहरूले आयोगले निर्धारण गरेको साइज र संख्याका मतपत्र ३५ दिनभित्र छापेर दिन केन्द्र सक्षम रहेको बताएका थिए । आयोगका पदाधिकारीहरूकै रोहबरमा जनक शिक्षाले शनिबार नै नमुना मतपत्रसमेत छापेको थियो । ०३६ को जनमतसंग्रह र त्यसपछि भएका सबै निर्वाचनमा मतपत्र छाप्ने काम जनक शिक्षा सामग्री लिमिटेडले नै गर्दै आइरहेको छ ।

जनक शिक्षा सामग्रीका पदेन अध्यक्ष रहने शिक्षासचिव शान्तबहादुर श्रेष्ठसँग पनि आयोगका पदाधिकारीले मतपत्र छपाइबारे जानकारी लिएका थिए । उनले पनि निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र निर्धारित समयभित्र छाप्न जनक शिक्षा सक्षम रहने बताएका थिए ।