संसदमा राष्ट्रियताको पक्षमा राजेन्द्र महतोको दमदार भाषण
काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा दमदार भाषण गरेका छन् । उनले महाकाली सन्धीमा राष्ट्रघात गर्नेहरुको खोजी गर्नुपर्ने बताएका छन्। नेपालको संविधानको दोस्रो संशोधनको दफावार छलफलमा बोल्दै उनले देशबेचुवाको खोजी गरिनुपर्ने बताएका हुन्।
‘देशबेचुवाको खोजी हुनपर्यो। ०५८ वर्ष पहिला लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र हाम्रै नक्सामा थियो नी ! महाकाली सन्धी कसरी भयो?, ’ उनले भने, ‘राष्ट्रघातीको पहिचान हुनुपर्छ। यसको पर्दाफास गर्नुपर्छ। मधेसीलाई राष्ट्रवादी नभन्ने, तर आफैं राष्ट्रघात गर्ने। खोजी गरिनुपर्छ। स्वेत जारी गर्नुपर्छ र देशबेचुवालाई टुँडिखेलमा झण्डाउनुपर्छ।’
उनले संविधानसँग असन्तुष्टी रहेपनि देश, राष्ट्रियता र भूमिको सवालमा कुनै सम्झौता हुन नसक्ने बताए। ‘संविधान प्रति हाम्रो पुरै असन्तुष्टी छ। तर, त्यसका बावदुत पनि देशको सवाल, भूमिको सवाल उठेको छ। सबै असन्तुष्टीलाई थाँती राखेर संविधान संशोधनमा जसपाले समर्थन गर्दछ,’ उनले भने।
नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको पनि बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताए ।
‘आजको ऐतिहासिक बैठक हो । यस्तो दिनमा बोल्न किन समय निर्धारण गर्ने ? मनमा भएको कुरा बोल्न दिनुपर्छ । आजको बैठकमा नेपालको नक्साको प्रस्ताव राख्ने दिन हो’ महतोले भने ‘राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भूभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन ।’
‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्’, महतोले भने । राष्ट्रियताको सवाल आउँदा मधेसीले गर्दैन भन्नु गलत भएको उनले बताए । ‘राष्ट्रियता कसैको एकलौटी होइन । राष्ट्रियता सम्पूर्ण नेपाली जनताको हो । आजबाट राष्ट्रियताको परिभाषा ठिकसँग लेख्नुपर्छ ।’
उनले संवेदनशील घडीमा एकता देखाउनुपर्नेमा जोड दिए । ‘यो समयमा हामीले एकता देखाउनुपर्छ’, महतोल थपे, ‘आफ्नो भूमिका लागि नेपाली जनताले एकता नदेखाए कसले देखाउँछ र ?’
नक्सालाई लिएर संविधानको अनुसूचीमा परिवर्तन गर्ने कुरा आएकोप्रति खुशी व्यक्त गर्दै उनले प्रस्तावको पक्षमा समाजवादी पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संविधान संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भने, ‘हाम्रो पार्टी संविधान संशोधनको पक्षमा सर्वसम्मत समर्थन गर्दैछ ।’
राजपा नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषामा मधेसीलाई समान व्यवहार नगरिएको भनेर असन्तोष व्यक्त गरेका छन् । संविधान सबैको हुन नसकेको भन्दै नेता महतोले भने, ‘यो संविधान जनजातिको हुन सकेन, मधेसीको हुन सकेन, उत्पीडितको हुन सकेन ।’
राष्ट्रियताको परिभाषामा मधेसीलाई जहिल्यै विभेद गर्ने गरिएको भन्दै आफूले उठाएका सवाललाई पनि सँगै प्याकेजमा ल्याई दिन गरेको प्रस्ताव सरकारले बेवास्ता गरेको बताए । उनले थपे, ‘राष्ट्रियता भूमि मात्रै होइन, जनता पनि राष्ट्रियताको परिभाषाभित्र पर्नुपर्छ । मधेसी समुदायको सँधै परीक्षा नलिइयोस् ।’