भारतलाई प्रदीप ज्ञवालीको चेतावनी : नेपाललाई हेर्ने चस्मा फेर, नक्सा फेरिंदैन - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

भारतलाई प्रदीप ज्ञवालीको चेतावनी : नेपाललाई हेर्ने चस्मा फेर, नक्सा फेरिंदैन



काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई चेतावनी दिंदै नेपाललाई हेर्ने चस्मा बदल्न आग्रा गरेका छन् । ज्ञवालीले नेपालले जारी गरेको नयाँ नक्सा स्थायी भएको र यो नबदलिने समेत बताएका छन् ।

भारतीय टेलिभिजन आजतकसँग कुरा गर्दै मन्त्री ज्ञवालीले नेपालले हालै जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा स्थायी भएको र उक्त नक्साले गर्दा दुई देशबीचको वार्तामा कुनै असर नपुग्ने बताएका छन् ।

उनले भने, ‘नेपालले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नयाँ नक्सा स्थायी हो । कुनै पनि मुलुकको संविधानले आफ्नो सार्वभौम मुलुक, भूगोल र अन्तर्राष्ट्रिय सीमाको पहिचान गर्नुपर्छ । हामीले संविधान संशोधन गरेर त्यही गर्न खोजेका छौं । यसले नेपाल–भारत सीमा वार्तामा कुनै समस्या आउँछ भन्‍ने मलाई लाग्दैन ।’

उनले नेपालको स्वतन्त्र निर्णयमा विदेशीको हात रहेको देख्ने लेन्स नै फेर्नुपर्ने सुझाव दिए ।

‘म भारतीय मित्रहरुसँग आग्रह गर्न चाहन्छु, उहाँहरुले नेपाललाई हेर्ने लेन्स बदल्नूस्,’ मन्त्री ज्ञवालले भने ।

उनले नयाँ नक्सा परिवर्तन गर्नमा नेपाल र नेपाली जनताको हात रहेको बताए ।

‘संसद्‍मा तपाईंले देख्नुभयो होला नि सम्पूर्ण राजनीतिक दलहरु नयाँ नक्साको पक्षमा र संविधान संशोधनको पक्षमा एकसाथ उभिनु भएको छ । मुलुकको भूमि, सार्वभौम मुलुक, स्वाधीनता र राष्ट्रिय एकताको पक्षमा गरिएको सरकारको निर्णयमा तीन करोड नेपालीको हात छ’, उनले भने ।

योगी आदित्यनाथको अभिव्यक्तिप्रति गरिएको प्रश्‍नमा मन्त्री ज्ञवालीले उक्त अभिव्यक्ति टिप्पणीको लायक नभएको बताएका छन् ।

उनले समस्याको जतिसक्दो चाँडो समाधान गर्न सक्यो त्यति चाँडो सम्बन्ध अघि बढ्ने बताएका थिए ।

उनले भने, ‘हामी समृद्ध दक्षिण एसिया र नेपाल–भारत सम्बन्धमा जोड दिन चाहन्छौं । पूर्वाग्रह छोडेर, तथ्यका आधारमा हामी जितसक्दो चाँडो वार्ता गरेर समस्या समाधान गर्न चाहन्छौं ।’