सर्वत्र आलोचित भएपछि स्वास्थ्यमन्त्री ढकालले भने-'कोरोनामा राजनीति भयो' - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सर्वत्र आलोचित भएपछि स्वास्थ्यमन्त्री ढकालले भने-‘कोरोनामा राजनीति भयो’



काठमाडौं- मन्त्री बनेदेखि नै अनेक काण्डले आलोचित बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको आरोप लगाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भैरहेका बेला स्वास्थ्यमन्त्री ढकालले कोरोनामा राजनीति छिरेकाले काम गर्न कठिन भएको बहाना बनाउन थालेका छन् ।

मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना माथि अहिले विभिन्न तरिकाले राजनीति गर्न खोजिएको भन्दै राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए।

सरकार र स्वास्थ्यमन्त्रालयले कोरोना महामारीमा पनि अनेक फण्डा गर्दै हिँडेको, भ्रष्टाचार गरेको, परिक्षणको दायरा बढाउन नसकेको भन्दै युवाहरूले स्वतस्फुर्त रूपमा देशभर प्रदर्शन गर्न थालेपछि उनले कोरोनामा राजिनिती छिरेको आरोप लगाएका हुन् ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताए।

कार्यक्रममा मन्त्री ढकालले भने, ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी, पछिल्लो दिनमा राजनीति पनि मिसियो’, उनले भने, ‘ खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ।’

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए। पछिल्लो १÷२ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको पुष्टि हुने उनको दावी थियो।