सबैभन्दा बढी संक्रमित हुने चौथो देश बन्यो भारत : विश्वव्यापी झन् तिब्र बन्दै संक्रमण - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सबैभन्दा बढी संक्रमित हुने चौथो देश बन्यो भारत : विश्वव्यापी झन् तिब्र बन्दै संक्रमण



काठमाडौं- कोरोना भाइरस एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण कम हुने आशा गरिरहेका बेला झन् भन्दा झन् बढ्दै छ ।

बुधबारको रेकर्ड तोड्दै बिहीबार एकै दिनमा १ लाख ३६ हजार ७ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख ३५ हजार ५ सय ७८ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो केहि दिन यता कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाएको छ । झनै तिब्र गतिमा फैलिएको कोरोनाबाट पछिल्लो १५ दिन यता हरेक दिन १ लाख बढि नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढि संक्रमित ब्राजिलमा थपिएका छन् । जहाँ ३० हजार ४ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा २३ हजार ३ सय जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा ११ हजार १ सय २८, रुसमा ८ हजार ७ सय ७९, पेरुमा ५ हजार ९ सय ६५, पाकिस्तानमा ५ हजार ८ सय ३४ र चिलीमा ५ हजार ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ७५ लाख २ हजार २ सय बढि संक्रमित भएका छन् भने ४ लाख २१ हजार ३२ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढि प्रभावित अमेरिकामा अहिलेसम्म २० लाख २२ हजार ४ सय ८८ जना संक्रमित भएका छन् भने १ लाख १३ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

दोस्रो प्रभावित मुलुक ब्राजिलमा ८ लाख २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । ४० हजार ९ सय १९ जनाको मृत्यु भएको छ ।
तेस्रो प्रभावित मुलुक रुसमा ५ लाख १ हजार ८ सय संक्रमित हुँदा ६ हजार ५ सय २२ जनाको मृत्यु भएको छ ।

बेलायतलाई समेत पछि पार्दै भारत कोरोना अति प्रभावित चौथो मुलुक बनेको छ ।

बेलायतमा भन्दा ६ हजार ८ सय ८४ जना बढि संक्रमित रहेको भारतमा संक्रमितको संख्या करिब ३ लाख नजिक पुगेको छ । बिहीबार एकै दिनमा ११ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको हो ।

बेलायतमा संक्रमितको संख्या २ लाख ९१ हजार ४ सय ९ रहेको छ। बेलालयतमा संक्रमण दर घट्दै गएको छ भने भारतमा दिनहुँ १० हजारभन्दा बढि व्यक्ति कोरोनाबाट संक्रमित भइराखेका छन् ।

पछिल्लो एक सातमा मात्रै ७१ हजार ५ सय ७० जना संक्रमित भएका छन् । एक महिनामा २ लाख २७ हजार ७ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ८ हजार ५ सय १ पुगेको छ । बिहीबार एकै दिनमा ३ सय ९४ जनाको मृत्यु भएको छ । एकै दिनमा यति ठूलो संख्यामा मृत्यु भएको पहिलो पटक हो । बुधबार ३ सय ८८ जनाको मृत्यु भएको थियो ।

पाँचौ प्रभावित बेलायतमा संक्रमितको संख्या २ लाख ९१ हजार ४ सय ९ पुगेको छ भने ४१ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।