खतराको संकेत देखेपछि आन्दोलन दबाउने सरकारको तयारी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

खतराको संकेत देखेपछि आन्दोलन दबाउने सरकारको तयारी



काठमाडौं- जनस्तरबाट स्वतस्फुर्त जम्मा भएर विरोध प्रदर्शन गरिरहेका बेला सरकारले भने आन्दोलन दबाउने संकेत देखाएको छ । एकातिर गृह मन्त्रालयले बिहिबार ७७ वटै जिल्लाका सिडियोहरूलाई आन्दोलन दबाउन निर्देशन दिएको छ भने अर्कोतिर विरोध प्रदर्शन गर्न आह्वान गर्नेलाई कारबाही गर्ने समेत बताएको छ ।

गृहले लकडाउनको बेला जुलुस प्रदर्शन गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर प्रदर्शन गर्ने क्रम बढेको भन्दै कारबाहीको चेतावनी दिएको हो ।

लकडाउनको उल्लंघन गर्नेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले कानुनले दिएको अधिकार प्रयोग गरी कारवाही गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

विरोध प्रदर्शन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले १ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको छ ।

सामाजिक सञ्जालबाट निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिलाई सहभागी बनाउने, ज्ञापनपत्र दिन जाने आदि जस्ता कामका संलग्न भएकोले यस्तो चेतावनी दिनुपरेको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकालेको विज्ञप्तीमा भनिएको छ ।

यस्तै मन्त्रालयले आवश्यक काम नपरी हिँडडुल गर्न नहुने, हिँडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दूरी कायम गर्न पनि सबैसँग आग्रह गरेको छ ।