महामारी चलेकै बेला ट्रम्पद्वारा चुनावी र्‍याली गर्ने घोषणा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

महामारी चलेकै बेला ट्रम्पद्वारा चुनावी र्‍याली गर्ने घोषणा



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार सुरु गर्ने तयारी गर्ने भएका छन्।

केही दिनमै चार वटा राज्य (ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिना) मा र्‍याली तथा सभा हुने बताइएको छ।

कोभिड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रम स्थगित थिए।

राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्क्रलले विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताएका छन्।

उनले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरु व्यापक र विशाल प्रकृतिका हुने दाबी गरेका छन्। पछिल्ला चुनावी मत सर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्।

राष्ट्रपति ट्रम्पले बाइडेनविरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताइरहेका छन्। अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ र ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिँदैछन्।

अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्यु बढ्दो क्रममा छ। अहिलेसम्म एक लाख १० हजारको हाराहारीमा मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी संक्रमित छन्।