संसदको न्याय समितिमा फ्लोइडका भाइ धरधरी रोए

काठमाडौं- जर्ज फ्लोइडका भाइ फिलिनिस फ्लोइडले प्रहरी बरबरता अन्त्य गर्न तथा ‘पीडा’ अन्त्य गर्न आग्रह गरेका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा भएको सुनुवाईको क्रममा फिलिनाइसले आफ्नो दाइको मृत्यु जस्तै अब अरुहरुको छालाकै रंगको कारण मृत्य नहोस् भन्ने सुनिश्चित गर्न आग्रह गरेका छन् ।
संसदको न्याय समितिमा भएको सुनुवाईमा बोल्दै उनले सांसदहरुसँग भने, ‘यो देश र विश्वले खोजेको नेता बन्नुहोस् । मेरो नाइको नाम ज्यादतीबाट मारिनेको सूचिमा थपिएको अर्को नाम मात्रै नबनोस् । पीडा अन्त्य होस् ।’

उनले प्रहरी ज्यादती अन्त्यका लागि प्रहरी प्रशासनमा सुधारका लागि विशेष व्यवस्था ल्याउन सांसदहरुसँग आग्रह गरेका छन् ।
गएको मे २५ मा उनका दाइ जर्ज फ्लोइडको प्रहरी हिरासतमै निधन भएको थियो । मिनेशोटा राज्यको मिनियापोलसमा श्वेत प्रहरी अधिकारी डेरेक चुभनले फ्लोइडको घाँटी घुँडाले झण्डै ९ मिनेटसम्म थिचेका थिए । सास फेर्न नसकेको बताउँदा पनि चुभनले घुँडा हटाएका थिएन् । त्यसपछि फ्लोइडको हिरासतमै निधन भएको हो ।
फ्लोइडको निधनपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध केही दशक यताकै ठूलो प्रदर्शन हुँदै आएको छ । रंगभेद विरोधी आन्दोलन अमेरिकामा मात्रै सीमित नभएर विश्वका विभिन्न देशमा फैलिएको छ ।
फ्लोइडको फ्युनेरल मंगलबार उनको जन्मथलो टेक्सासको ह्युस्टनमा भएको थियो । त्यसको भोलिपल्ट बुधबार न्याय समितिका सांसदहरुले नागरिक अधिकारका अभियान्ता तथा सुरक्षा अधिकारीहरुको बयान सुनेका हुन् ।
न्याय समितिले प्रहरी ज्यादती अन्त्य तथा रंगभेद विरोधी कानून सम्बन्धी विधेयक डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनमा जुलाई ४ सम्म पेश गर्ने तयारी थालेको छ ।
न्याय समितिमा जर्जका भाइ फिलिनिस भावविह्वल हुँदै भने, ‘म यहाँ तपाईँहरुसँग पीडा अन्त्य गर्नुस् भन्ने आग्रह लिएर आएको छु । बन्द गरिदिनुस् पीडाहरु । जर्जले सहयोगका लागि गुहार लगाए तर उनको गुहार सुनिएन । कृपया गुहार सुनिदिनुस् । हाम्रो परिवारको गुहार र सडकमा गुञ्जिरहे गुहार सुनिदिनुस् ।’

उनले भने, ‘सडकमा मार्च गरिरहेका मानिसहरुले अब त अति भयो भनेका छन् ।’
उनले अघि भने, ‘उनका सन्तानले त्यो भिडियो (जर्जलाई प्रहरीले घुँडाले थिचेको भिडियो) हेर्ने छन् । त्यो साह्रै पीडादायक छ… मानिसलाई त्यस्तो गरिँदैन… । उनको जीवनको पनि त अर्थ छ । अश्वेतहरुको जीवनको पनि त अर्थ छ । मेरो कामना यो छ कि उनलाई फिर्ता ल्याउन सकुँ ।’
डेमोक्र्याटले प्रहरी सुधारका लागि गरेको प्रस्तावमा प्रहरीबाट हुने दुव्र्यवहार सम्बन्धी घटनाको कारवाही प्रक्रियालाई सहज बनाउने, घाँटी थिच्न प्रतिबन्ध लगाउने तथा रंगभेदलाई सम्बोधन गर्नेसहितका व्यवस्था समेटिएको छ ।
डेमोक्र्याटले प्रस्ताव गरेको ‘जस्टिस इन पुलिसिङ्ग एक्ट २०२०’ लाई सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीले समर्थन गर्छ या गर्दैन भन्ने स्पष्ट भएको छैन ।

