अमेरिकी पूर्व विदेशमन्त्री भन्छन्, ‘ट्रम्प झूठका पुलिन्दा हुन्’
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारका कारण दिक्क भएपछि रिपब्लिकन नेताहरु एकपछि अर्को गर्दै उनको कडा आलोचनामा उत्रिन थालेका छन् ।
यसैक्रममा अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलले रंगभेदविरोधी प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको कडा आलोचना गरेका हुन् ।
ट्रम्प संविधानको भावनाभन्दा निकै टाढा पुगेको टिप्पणी गर्दै पावेलले अब आफूले आगामी निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई मत दिने घोषणा गरे । उनले ट्रम्पले सधै झूठो बोल्ने गरेकाले अब उनी राष्ट्रपतिमा निर्वाचित हुन योग्य नरहेको पनि बताए ।
राष्ट्रपति ट्रम्पले भने पावेलको भनाइलाई ‘अति प्रतिशोधयुक्त’ रहेको टिप्पणी गरेका छन् । अमेरिकामा अहिलेसम्म संयुक्त चिफ अफ स्टाफको अध्यक्षका रुपमा काम गरेका पावेल एक मात्र अफ्रीकी–अमेरिकी व्यक्ति हुन् । रिपब्लिकन पार्टीका तर्फबाट विदेशमन्त्री रहिसकेका पावेल पूर्व शीर्ष सैन्य अधिकारी हुन् ।
नागरिक प्रदर्शनमा सेना प्रयोग गर्ने ट्रम्पको कदमप्रति पावेलअघि ट्रम्पकै पूर्व विदेशमन्त्री जेम्स म्याटिसले पनि आलोचना गरेका थिए । प्रहरी यातनामा अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयड मारिएपछि देशभर फैलिएको विरोध प्रदर्शनकै बीच पावेल ट्रम्पको आलोचनामा ओर्लिएका हुन् ।
यसैबीच, हिंसात्मक बनेको प्रदर्शन शान्तिपूर्ण बाटोमा फर्किन थालेको छ । न्यूयोर्कमा लगभग एक सप्ताह जारी राखिएको कर्फ्यू हटाइएको छ । उता राष्ट्रपति ट्रम्पले पनि नेशनल गार्डलाई वाशिंगटन डीसीबाट फिर्ता गर्न आदेश दिएका छन् ।