बाइडेनले जर्ज फ्लोइडको परिवारसँग भेट्दै - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

बाइडेनले जर्ज फ्लोइडको परिवारसँग भेट्दै



काठमाडौं- अमेरिकी पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति उम्मेदवार जो बाइडेनले जर्ज फ्लोइडको परिवारसँग भेटघाट गर्ने भएका छन् ।

आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ, सो चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट बाइडेन उम्मेदवार बन्दै छन् ।

बाइडेन सोमबार जर्ज फ्लोइडको परिवारसँग भेट गर्नका लागि टेक्सास ह्युस्टन जाने उनका सहयोगीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । टेक्सासमा फ्लोइडको फ्युनेरल मंगलबार हुनेछ । फ्युनेरल भन्दा अघि बाइडेनले उनको परिवारका सदस्यसँग भेट गर्ने भएका हुन् ।

मिनेशोटाको मिनियापोलसमा गएको मे २५ मा प्रहरीको बरबरतापछि निहत्था अश्वेत व्यक्ति फ्लोइडनको निधन भएको थियो । ४६ वर्षका उनको घाँटीमा स्थानीय प्रहरी अधिकारीले झण्डै ९ मिनेट घुँडाले थिचेका थिए ।

सो घटनापछि अमेरिकाभर प्रहरी ज्यादती तथा रंगभेदको विरोध र फ्लोइडका लागि न्यायको माग गरी प्रदर्शन हुँदै आएको छ ।

बाइडेनले फ्लोइडको परिवारलाई समवेदना प्रकट गर्ने र फ्युनेरलका लागि भिडियो सन्देश रेकर्ड गर्ने जनाइएको छ । रंगभेदविरुद्ध भइरहेको प्रदर्शनलाई लिएर ट्रम्पले गरेका टिप्पणी तथा व्यवहारप्रति बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आएका छन् ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले आन्दोलन दबाउनका लागि सेना परिचालन गर्नेसम्मको धम्की दिएका छन्। आफन्त गुमाएकाहरुप्रति बाइडेनको समवेदना मन छुनेखालको हुने गर्छ । उनले वियोगलाई आफ्नो जीवनका वियोगसँग जोड्ने गर्छन् ।

बाइडेनकी पहिलो श्रीमती र नाबालिका छोरीको सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै छोरा बेउ बाइडेनको ब्रेन क्यान्सरका कारण निधन भएको थियो ।