अस्पतालले भर्ना नलिएपछि कैलालीका पाँच संक्रमितलाई मन्दिरमा राखियो - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अस्पतालले भर्ना नलिएपछि कैलालीका पाँच संक्रमितलाई मन्दिरमा राखियो



कैलाली- सरकारले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताइरहेका बेला कैलालीका पाँच संक्रमितले भने अस्पतालमा भर्ना नै पाएका छैनन् ।

अस्पतालले भर्ना नलिएपछि फर्काइएका संक्रमितलाई कैलालीको गौरीगंगा नगरपालिकाले स्थानीय एक मन्दिरको कोठा (हल) मा राखेको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नलिई फिर्ता पठाएको हो । मंगलबार राति अस्पताल पुर्याएका पाँच जनालाई आइसोलेसन वार्ड खाली नभएको भन्दै अस्पतालले भर्ना लिन नसकिने बताएको गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउवाले जानकारी दिएका छन् ।

‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौं,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य तीन जना सामान्य रहेको देउवाले बताएका छन् । कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्यामा परेको उनी बताउँछन् ।

स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए । सेती प्रादेशिक अस्पतालले भने शैंया अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ । ‘अस्पतालमा २४ शैंयाको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले उहाँहरुलाई राख्नै नसकेर फर्काएका हौँ,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने ।