पाल्पामा पनि एक जनाको मृत्यु: भारतबाट आएका थिए मृतक - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

पाल्पामा पनि एक जनाको मृत्यु: भारतबाट आएका थिए मृतक



काठमाडौं- पाल्पामा एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ। ४६ वर्षिय रामबहादुर मगरको मिसन अस्पतालको आइसोलेसमा मंगलबार मृत्यु भएको हो।

उनको स्वाब परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए। मृतक मगरलाई सास फेर्न कठिन भएको र सुख्खा खोकी लागेको उनले जानकारी दिए ।

मगर पूर्वखोला गाउँपालिका १ सिलुवाका हुन्। उनी वडा नम्बर २ जल्पाको शम्भु माविको क्वारेन्टिनमा बस्दै आएका थिए। स्वास्थ्य अवस्था विग्रँदै गएपछि सोमबारमात्र उनलाई मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए।

भारतको मुम्बईबाट आएका मगर जेठ १८ गते क्वारेन्टिनमा पुगेका थिए। मृतकको स्वाब संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

मृत्युपछि पुनः स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पाल्पामा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ ।