कांग्रेसले दर्ता गरेको संविधान संशोधन विधेयक के हो ? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कांग्रेसले दर्ता गरेको संविधान संशोधन विधेयक के हो ?



काठमाडौं- नेपाली कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। तराई मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरूले विधेयक दर्ता गराएका हुन् ।

कांग्रेस सांसद उमाकान्त चौधरीको नेतृत्वमा प्रदीप गिरि, अमरेशकुमार सिंहसहित ८ सांसदले संशोधन विधेयक दर्ता गराएको प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख नारायण ढकालले जानकारी दिए।

संशोधन दर्ता गराउनेमा उमाकान्त चौधरी, अमेरशकुमार सिंह, प्रदीप गिरि, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, नमिता चौधरी र पद्मनारायण चौधरी रहेका छन्।

उनीहरूले गैर-सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक प्रस्तुत गरेका हुन्।

विधेयक यसअघि नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता गरिएको विधेयककै करिब हुबहु रहेको छ। तत्कालीन एमालेले समर्थन नगरेपछि विधेयक पारित हुन सकेको थिएन।

यसअघि मंगलबार दिउँसो तोकिएको ढाँचा नपुगेको भन्दै सचिवालयले विधेयक फिर्ता पठाएको थियो।

विधेयक दर्ताको निर्णयका लागि कांग्रेस केन्द्रीय समितिले यसअघि संसदीय दललाई निर्देशन दिएको थियो। तर, संसदीय दलले औपचारिक रुपमा निर्णय गरिसकेको छैन।

संशोधननमा नेपालमा बोलिने मातृभाषालाई अनुसूचीमा राख्ने, वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

त्यस्तै, प्रदेशको सीमांकन मिलाउन संघीय आयोग गठनको प्रस्ताव गरिएको छ।

त्यस्तै, समावेशी र समानुपातिक ढंगबाट राजदूत लगायतको चयन गर्नुपर्ने व्यवस्था राख्न संशोधनमा माग गरिएको छ।

त्यस्तै, राष्ट्रिय सभाका लागि निर्वाचन प्रणाली परिवर्तन गरि जनसंख्यालाई मुख्य आधार बनाउन प्रस्ताव गरिएको छ।