सबैले थर बदलौँ, विश्वकर्मा, कामी लेखौँ: बाबुराम भट्टराई - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सबैले थर बदलौँ, विश्वकर्मा, कामी लेखौँ: बाबुराम भट्टराई



काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन्।

प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उनले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताए।

‘पढेलेखेका हामीजस्ता बाहुन मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने’, भट्टराईले भने, ‘क्षेत्रीहरू कुनैबेला लडाइँ लड्थे होलान्, राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि लडाइँ–बडाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो।’

उनले विगतमा वैश्यहरूले व्यापार गर्ने गरेका भए पनि अहिले व्यापार गर्नेको संख्या बढेकाले उनीहरुलाई नपुग्ने अवस्था रहेको बताए।

‘अनि जो श्रम गर्ने हो सीप भएको हो। त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ’, भट्टराईले भने, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले। मेरो त एउटा प्रस्ताव छ – तपाईं हामी सबैले दलित नाम राखिदिउँ न। बाबुराम भट्टराई कामी भन्न किन नहुने?’

भट्टराईले काम गर्ने मान्छेले ‘कामी भनेर गर्व’ गर्ने अवस्था श्रृजना गर्नुपर्ने बताए।

‘विश्वकर्मा लेखौं, कामी लेखौं हामी सबैले थर बदलौं। त्यसो भए बराबरी भइन्छ की’, भट्टराईले भने, ‘नत्र भर्खरै मात्र रूकुममा जे भयो त्यस्तो परिकल्पना गर्न पनि सकिन्न। क्रान्तिको इलाकामा प्रतिक्रान्ति भयो भने देश कहाँ जान्छ?’