प्रहरीले हेरिरह्यो, गाउँलेले कुटिरहे: एउटा प्रेम र केहि जीवन अन्त्यको कहानी यस्तो छ - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

प्रहरीले हेरिरह्यो, गाउँलेले कुटिरहे: एउटा प्रेम र केहि जीवन अन्त्यको कहानी यस्तो छ



जाजरकोट- प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् ।

प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए । २०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् ।

आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।

खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घर नजिकै पुगे ।

जाजरकोटको खलंगाबाट कालेगाउँ नजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एकरडेढ घण्टा उकालो हिंडेर उनीहरू युवतीको घर नजिकै पुगे ।

नवराजसँगै गएका अनि आक्रमणपछि भागेर ज्यान जोगाएका एक जनाको बयानअनुसार साँझ ५ बजेतिर उनीहरू केटीको घर नजिक पुगेका रहेछन् । साथीहरूले ‘लफडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए ।

नवराज विश्वकर्मा र उनका साथीहरूलाई देख्ने बित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘तँ…लाई कुटाइ अझै पुगेन ?’ भन्दै गालीगलौज गरिन् । उनैले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गुहार मागिन् र गाउँलेलाई बोलाउन लगाइन् ।

गाउँले आउने थाहा पाएपछि केही नबोली उनीहरू खलंगातिर ओरालो लागे । युवाहरू सोतीदेखि करिब १० मिनेटको बाटो हिंडेर करिब एक किलोमिटर तल गैरीनाउला भन्ने ठाउँमा पुगे । पानी मागेर खाए । नाउलामा रहेका केही अपरिचितले ‘बाबुहरू बस्नुहोस्, काफल खानुहोस्’ भन्दै अलमलाउन खोजे । उनीहरूको व्यवहारमा शंका लागेपछि नाउलामा नरोकिई उनीहरू अगाडि बढे ।

घाइते सरोज खड्काका अनुसार उनीहरू नाउलाबाट १० मिनेट हिँडेर करिब २ किलोमिटर तल रहेको मध्यपहाडी लोकमार्ग नजिक पुगेका मात्रै के थिए, एक्कासी ६०–७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा बर्साए । ‘हामीलाई ढुंगामुढा, हँसिया र चिर्पटले हान्दै भेरीको किनारसम्म पु¥याए,’ उनले भने, ‘त्यसपछि को कतातिर लाग्यो, पत्तै भएन ।’

तम्तयार बसे जस्तो देखिने केटी पक्षकाले कसरी योजना बनाए भन्नेमा अनेक आशंका छ । पीडित परिवारले घटनाको एउटा तथ्य भित्रभित्रै लुकाउने खेल भएको आरोप लगाएको छ । पीडित पक्षको दाबीअनुसार ती युवतीको फोन नियन्त्रणमा लिएर दाइले नै म्यासेज गरेर बोलाएका हुन् ।
आक्रमण भएको ठाउँबाट भेरी नदी तलै छ ।

सोतीका गाउँलेको हूलले भाग्दै गरेका उनीहरूलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म लखेटेका थिए । पुल छेकेर अर्को समूह बसेकाले बाँचेका घाइतेले बगरैबगर गएर भेरी तर्ने प्रयास गरेको घटनास्थल पुगेका अधिकारकर्मीहरू बताउँछन् । गाउँलेको कुटपिट तथा लखेट्याइँमा परेका १९ युवामध्ये एक जना फुत्किएर भागे र घर आउन सफल भए ।

स्थलगत प्रतिवेदनअनुसार ‘तम्तयार अवस्थामा रहेका डम्बरबहादुर मल्लसहितको ठूलो डफ्फा १९ जनाको निःशस्त्र टोलीमाथि जाइलाग्यो । दलित मुक्ति संगठनका तर्फबाट स्थलगत अध्ययनमा गएका पूजन विश्वकर्माका अनुसार भीरबाट हामफालेर भेरीमा पुग्ने अवस्था घटनास्थलमा देखिँदैन । ‘मान्छे त के, त्यहाँ एउटा गाडी नै फाले पनि भेरीमा नपुग्ने खालको ठाउँ छ,’ विश्वकर्माले भने, ‘त्यसले घटना झनै रहस्यमय बनेको छ ।’

कुटपिटबाट घाइते भएका १२ जना भेरी नदीको सानो भंगालो तरेर बीचको बगरमा घेराबन्दीमा परे । तीमध्ये ५ जना भेरीको ठूलो भंगालोमा हामफालेर वारिपट्टि आइपुगे । सात जना दुवैतिर भंगालोबीचको बगरमै अड्किए । भेरीमा हामफाल्न नआटेका ७ जनालाई सोतीका गाउँलेले बगरमै आएर कुटपिट गरिरहे ।

लाठी र दाउराले आफूलाई कुटेको बताउने ती पीडितका अनुसार कुटाइपछि बेहोस भएका उनी ब्युँझँदा प्रहरी नियन्त्रणमा चौरजहारी अस्पतालमा थिए । आक्रमण गर्ने अर्को समूह एक किलोमिटरमाथिको झोलुङ्गे पुल तरेर कालेगाउँपट्टि गएर बसिसकेको रहेछ । भेरी तरेका पाँच जनालाई पनि २०–२५ जनाको समूहले कुटपिट गर्दै फर्काएर पारिपट्टि घटनास्थल लिएर गए ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद घर्तीले स्थलगत अध्ययन टोलीलाई बताएअनुसार ‘सोतीगाउँका व्यक्तिहरूले नवराज विश्वकर्मालगायतलाई लखेटेर, भेरी नदीको दुवैतिरबाट घेरा हालेर कुटपिट गरी मारेर नदीमा फालेका हुन् । प्रहरी घटनास्थलमा नपुगेको भए बाँकी १२ जनाको पनि ज्यान जान सक्थ्यो ।’

अर्का प्रत्यक्षदर्शी इन्द्रजंग शाहका अनुसार कुटपिटबाट ज्यान गुमाएका पाँच र बेपत्ता एक जना भेरी नदी किनारमा आएकै थिएनन् । गाउँलेको आक्रमणमा परेका नवराज लगायतहरू कुन ठाउँमा थिए ? कसरी नदीमा परे भन्ने खुलेको छैन ।

पीडित पक्षले सोतीका गाउँलेको कुटाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्यान गएको र घटना साम्य भएपछि उनीहरूको शव भेरीमा बगाइएको आरोप लगाएका छन् । भेरी किनारमा ठूलो समूहले आक्रमण गर्दा घाइतेहरूले नवराजलगायत मृतकहरूलाई नदेखेकाले माथि नै गाउँमा मरणासन्न बनाएर भेरीमा फालिएको वा मारेरै फालिएको हुन सक्ने अनुमान गरेका छन् ।

मूकदर्शक प्रहरी

घटनास्थल भनिएको कालेगाउँ पारिपट्टिको गैरीदेउला चौरजहारीदेखि भेरी किनारैकिनार माथिपट्टि पर्छ । घटनास्थलको सबैभन्दा नजिकको प्रहरी घटनास्थल पुगेको देखिन्छ ।

चौरजहारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म्सिंह विष्टले अनुगमन टोलीलाई बताएअनुसार अघिल्लो रात नै प्रहरी टोली सोतीगाउँमा पुगेको रहेछ । सडकको विवाद मिलाउन खोलागाउँमा गएको प्रहरी टोलीलाई वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेका रहेछन् ।

लगत्तै प्रहरी सहायक निरीक्षक सन्तोष लामिछानेको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुग्यो । त्यहींबाट प्रहरीले नवराजको साथमा गएका महेश कार्की र डिल्ली विश्वकर्मालाई नियन्त्रणमा लिएको देखिन्छ ।

‘घटनास्थल पुग्दा वडाध्यक्ष मल्लसहित करिब ५० जना बारीको डिलमा उभिएका रहेछन्,’ प्रहरी निरीक्षक विष्टको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, पश्चिम रुकुम स्रोतले भन्यो, ‘ढुंगा र लाठीले पिट्दै गएको देखेपछि प्रहरीले उनीहरूलाई रोकेझैं गरेको हो ।’

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हुलुखोला जाजरकोटबाट पनि दुई जना प्रहरी घटनास्थल नजिकको झोलुङ्गे पुलमा पुगे । ‘प्रहरी आए पनि साम्य पार्न केही पहल गरेनन्, सिटी फुकेर हेरिरहे,’ घाइते सरोज खड्काले भने, ‘सोतीका गाउँलेले प्रहरीकै अगाडि हामीलाई अन्धाधुन्ध कुटेका थिए ।’

प्रादेशिक प्रहरी कार्यालय स्रोतका अनुसार चौरजहारी प्रहरीले भीडलाई नियन्त्रणमा लिन नसकेको स्विकारेको छ । त्यत्रो घटनामा पुलिसले ‘सिट्टी’ सम्म बजाएको थियो, स्थिति साम्य पार्न आफूले सक्ने जति काम नगरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

पीडित पक्ष र दलित अधिकारकर्मी लगायतले घटनास्थलमा पुगेर पनि युवालाई बचाउन वास्ता नगर्ने प्रहरीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । उपचार नपाउँदा घाइते खड्कालगायतको टाउको, हात, पाखुरा, पिठ्युँ लगायतमा लागेको चोट निको भएको छैन ।

घाइतेहरूका अनुसार गाउँलेले भेरी नदीमा हामफालेका ५ जनालाई पनि नदीमै पुगेर ढुंगा, चिरपटलगायतले हानेका थिए । सोतीका स्थानीयले भेरी नदीको दुई भंगालोबीचको बगरमा रहेका ७ जना र कालेगाउँबाट नियन्त्रणमा लिएका ५ जना गरी १२ जनालाई लकडाउन उल्लंघन गरी गाउँमा केटीलाई जबरजस्ती ल्याउन खोजेको भन्दै चौरजहारीबाट आएको प्रहरी टोलीको जिम्मा लगाएका थिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले नवराजलगायतको खोजी गरेन । उल्टै घाइते युवालाई नियन्त्रणमा लिएर इप्रका चौरजहारीको हिरासतमा राख्यो । तर प्रहरीले उनीहरूको उपचार गरिएको दाबी गरेको छ ।

घटनास्थलमा रहेका प्रहरीमाथि केन्द्रीय टोलीले सोधपुछ गरेको छ । सोधपुछका क्रममा प्रहरीले लखेटिएका केही युवा भेरीमा हाम्फालेको बताएका थिए । तर पीडित पक्षले भेरी तर्न खोजेकाहरू मात्रै हाम्फालेको र उनीहरू जोगिएको प्रतिक्रिया दिएका छन् । हाम्फालेकाहरू नै मरेको हुन सक्ने आशय पुष्टि हुने गरी प्रहरीले विवरण बनाउन थालेको पीडितको आरोप छ ।

त्यत्रो ठूलो झडप देखेको प्रहरीले माथि गाउँदेखि नै नवराजहरूको समूह लखेटिएको र कुटाइ खाएको थाहा पाएन । कसैलाई पक्राउ नगरी भेरीको भंगालोमा अलि बढी कुटाइ खाएकाहरूलाई मात्रै लिएर प्रहरीको गाडी चौरजहारीतिर गयो ।

मारपिटको घटना मिलेमतोमा गुपचुप राख्न खोजिएको पीडितको आरोप छ । तर प्रहरीले अरू विवरण थाहा नभएको दाबी गर्दै भेरी किनारमा नवराजको शव भेटिएपछि मात्रै अरूलाई पक्रेको प्रतिक्रिया दिएको छ । अधिकारकर्मीहरूका अनुसार भागदौड देखेका गैरीदेउलाका अधिकांश स्थानीय बासिन्दा घटनाबारे बोल्न मान्दैनन् ।

स्थलगत प्रतिवेदन के भन्छ ?

घटनाको केही दिनपछि १० जना दलित अगुवा एवं अधिकारकर्मीहरूको टोली घटनास्थल पुग्यो । उनीहरूले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार केटीपक्षको समूहले सबैतिरबाट घेरा हालेर सांघातिक आक्रमण भएको हो ।

आक्रमणमा संलग्नहरूले नवराजको समूहलाई घरेलु हतियारले प्रहार गरेको र शव नदीमा फालेको पुष्टि हुने घटनास्थल पुगेर फर्किएका दलित अधिकारकर्मी धर्मलाल रोकायाले कान्तिपुरलाई बताए । ‘घटनाको स्थलगत अध्ययन गर्ने हो भने भेरीमा हाम्फाल्ने अवस्थै हुँदैन, हाम्फालेकै भए पनि बुट्यानका कारण मानिस बीचैमा अड्किन्छ,’ प्रतिवेदनबारे रोकायाले भने, ‘भाग्दा हाम्फालेर मरे भन्ने कुरा कुनै हालतमा पनि पुष्टि हुँदैन ।’

रोकायालगायत १० जना अधिकारकर्मीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पनि यस्तै दाबी छ । प्रतिवेदनमा छ, ‘घरेलु हतियार हँसिया, खुकुरी, लाठी लगायतका ढुंगाले एक्कासी आक्रमण गर्दै लखेट्दै लखेट्दै भेरी नदीको बगरमा दुवैतिरबाट घेरा हालेर नवराज विश्वकर्मा र उनका अरू पाँच जना साथीहरूको ह’त्या गरी भेरीमा शव फालिदिए ।’

छानबिन प्रतिवेदनलाई पुष्टि गर्ने केही स्थलगत तथ्यहरू पनि छन् । घटनास्थल आसपास भेरी नदीमा खोंच छैन । जंघार परेको समथरमा करिब ६र७ फिट गहिरो छ । हामफाल्ने खालको ढिस्को वा पहरो छैन । किनारमा गएर पौडी खेलेर तर्ने खालको फराकिलो बहाव छ ।

घटनास्थलदेखि माथि एक किलोमिटरको दूरीमा एउटा पुल छ भने २र३ किलोमिटर तल अर्को पुल छ । मृतक र बेपत्ता भएका साथीहरू भेरी नदीमा पौडी खेल्दै आएकाले उनीहरू बगेर मर्ने अवस्था नभएको उनीहरूका साथी बताउँछन् ।

फोन सम्पर्क भएको अनुमानित समयको आकलन गर्दा घटनाको एकरदुई घण्टाभित्रै साँझ साढे ६ बजे जाजरकोटतिर भेरी किनारमा उनको शव भेटियो । त्यो दिन हराएका पाँचमध्ये चारको शव १५ गतेसम्म भेरी किनारामै भेटिएको छ भने एक जनाको अवस्था अज्ञात छ ।

प्रारम्भिक बयानमै नवराजको साथमा गएका ती साथीहरूले केटीको घरबाट केही वरपट्टि आउनेबित्तिकै ढुंगामुढा भएको बताएका छन् । घटनास्थल पुगेको प्रहरीले काठमाडौंबाट गएको टोलीलाई बताएअनुसार नवराजका साथै अरू घाइतेहरू निःशस्त्र थिए । यतिसम्म कि, उनीहरूको साथमा पैसा थिएन । प्रहरी निरीक्षक धर्म्सिंह विष्टले ‘जातीय भेदभाव र जातीय छुवाछूतकै कारण कुटेर ह’त्या भएको’ भन्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन् ।

दुवैको प्रेमबारे मल्ल परिवारभित्र र नजिकका नातेदारहरूमाझ पनि कुरा चलिरहेको विभिन्न छानबिनले पुष्टि गर्छ । नवराजका बाबुलाई ती युवतीका ठूलाबाबु इन्द्रबहादुर मल्लले मल्लको सम्धी बन्ने इच्छा छ भनी सोधेका थिए । जाजरकोट खलंगामा व्यापार गरी बस्ने उनैले नवराजकी दिदीलाई घटना भएको दिन ‘नवराज घर पुग्यो कि पुगेन ?’ भनेर सोधका थिए ।

दिदीले किन सोधेको भनी जिज्ञासा राखेपछि जवाफमा इन्द्रबहादुरले ‘नवराजले केटाहरूको हूल लिएर कता हिँडेको थाहा पाएको’ भन्ने जवाफ दिएको पीडित परिवारको भनाइ छ । दिदीले साढे ५ बजेतिर नवराजसँग फोन सम्पर्क गरेकी थिइन्, त्यो नै उनीहरूबीचको अन्तिम गफ बन्यो ।

घटनाको एक सातापछि कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त, जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा र रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहितको टोली घटनाको एक सातापछि शनिबार घटनास्थल पुगेको छ ।

टोलीले घटनाका मृतकका परिवारका साथै स्थानीयवासीसँग भेटघाट गरेको छ । गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले पनि शनिबारै घटनास्थल पुगी स्थलगत अध्ययन गरेको छ ।

यसरी सुरु भएको थियो प्रेम

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विश्वकर्मा विभिन्न खेलकुदमा सक्रियतापूर्वक भाग लिन्थे । उनसँग ‘प्रेमसम्बन्ध’ मा रहेकी युवती चौरजहारी नगरपालिका–८ सोतीगाउँकी हुन् । भेरी नदीले छुट्याएको वल्लोपल्टो गाउँका उनीहरूबीचको प्रेम सम्बन्ध तीन वर्ष भएको नवराजकै बाबु आमाले केहीअघि मात्रै थाहा पाए ।

२०७५ साल जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलो पटक दुवैबीच भेट भएको थियो । त्यही नै उनीहरूबीच चिनाजान पनि भयो । त्यसपछि उनीहरू नियमित सम्पर्कमा थिए । २०७६ साल पुसमा जाजरकोटको खलंगा मेलामा ती युवती नवराजको घरमा गएर चार दिन बसेकी रहिछन् । केटाका बाबुले ‘ती युवतीलाई उमेरले पनि सानी भएको र जातका आधारमा पनि ठकुरीकी छोरी हामीसँग मिल्दैन’ भनेर सम्झाउन खोजेका थिए ।

जवाफमा केटीले ‘अंकल तपाईं कस्तो कुरा गर्नुहुन्छ ? हामी माओवादी हौं, हामीले जातभात मान्दैनौं । हामी दुवैजना साथी हौं । हामीले आठ वर्षपछि बिहे गर्ने हो’ भनेर जवाफ दिएको नवराजका बाबुले स्थलगत अध्ययन टोलीसँगको कुराकानीमा बताएका छन् । केही दिनमा नै ती युवती नवराजको भाइ (सानीआमाका छोरा) को जन्मदिनका अवसरमा घरमा आई तीन दिन बसेर फर्केकी थिइन् ।

उनीहरूबीच नियमित फोन र एसएमएसदेखि फेसबुक र म्यासेन्जरमा कुराकानी भइरहेको साथीहरूले बताएका छन् । त्यस्तैमा लकडाउन सुरु भएको केही दिनमा गत चैत १७ गते ती युवतीले नवराजलाई आफ्नो घरमा भेटघाटका लागि बोलाएकी थिइन् ।

त्यही दिन केटीको घरपरिवारले अपशब्द प्रयोग गरी कुटपिट गर्नुका साथै इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएको खुलेको छ । एक रात हिरासतमा राखेपछि प्रहरीले भोलिपल्ट नवराजका बाबुलाई झिकायो । बाबु शारीरिक रूपमा अशक्त भएकाले जान नसकेकामा आमा गएर छोरा बुझेर घर लगिन् ।

घटनाको दिन जेठ १० गते ती युवतीले नवराजलाई माइती पक्षले अर्कै केटासँग विवाह गराउन लागेको खबर गरिन् । आफूलाई भागेर लैजान भन्दै उनले साथीहरूले लिएर आउन ‘म्यासेज’ गरिन् । त्यसैअनुसार साथीहरू लिएर सोतीगाउँ पुगेका नवराजको शव केही घण्टामै सेती किनारमा भेटियो ।

स्थलगत अध्ययनमा गएका एक अधिकारकर्मी त्यो अन्तिम म्यासेज युवतीले नै पठाएकोमा शंका व्यक्त गर्छन् । ‘फोनमा कुरा भएको होइन, म्यासेज हो,’ एक अधिकारकर्मीले भने, ‘उनको फोन कब्जामा लिएर दाइले नै केटालाई घरमा बोलाएको, अनि त्यस्तो घटना भएको आशंका छ ।’ कान्तिपुर दैनिकमा यो खबर छ