शुक्रबार एकै जिल्लामा थपिए ५६ जना कोरोना संक्रमण
रौतहट- रौतहटमा शुक्रबार थप ५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण फेला परेको बताएको छ ।
प्रजिअ घिमिरेले शुक्रबार संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए । उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आफूले पाएको पनि बताए ।
रौतहटका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतबाट फर्किएका झण्डै ४ हजार ५ सय जना छन् । क्वारेन्टाइन बनाउने विषयमा नै रौतहटमा बिहीबार र शुक्रबार प्रशासनसँग स्थानीयको झडपसमेत भएका थिए ।
५६ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ । तीनजना निको भएर घर फर्किएका छन् ।