तीन दिनसम्म मेघगर्जन, हावाहुरीसहित वर्षा हुने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

तीन दिनसम्म मेघगर्जन, हावाहुरीसहित वर्षा हुने



काठमाडौँ – आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुनको प्रभावले तीन दिनसम्म हावाहुरी, वर्षा र चट्याङ पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, “प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।”

अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ ।

सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन्न अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्याह्नपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशको पूर्वी तथा मध्य भूभागमा केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।

शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहने छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस रहने छ ।