नेपालसँग विवाद र चीनसँग सीमामा तनाव बढेपछि मोदीले डाके उच्चस्तरीय सुरक्षा बैठक - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपालसँग विवाद र चीनसँग सीमामा तनाव बढेपछि मोदीले डाके उच्चस्तरीय सुरक्षा बैठक



एजेन्सी- नेपाल र चीनसँग सिमानाका बिषयमा तनाव भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक बोलाएका छन्।

एकातिर नेपालसँग कालापानीका बिषयमा विवाद बढिरहेको छ भने अर्कातिर लद्दाखमा चिनिया सेनासंग निरन्तर भिडन्त भैरहेको छ । यसरी दुबैतिर टक्कर बढ्दै गएपछि मोदीले उच्चस्तरीय बैठक बोलाएका हुन् ।

केहिदिन अगाडी चीन र भारतले लद्दाखमा सेनाको संख्या बढाएका थिए । लद्दाखमा दिनहुँ जसो बढिरहेको तनावका बीच भारतीय सेना प्रमुख पनि पुगेका थिए । कतिपय भारतीय समाचारमाध्यमका अनुसार भारतीय सेनाको एउटा टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको थियो ।

दुवै छिमेकी देशबीच सीमामा तनाव भैरहेका बेला मोदीले भने बैठकमा तीनै सेनाका प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत सहभागी बोलाएका थिए ।

त्यसअघि मोदीले विदेश सचिवसँग बैठक आयोजना गरेका थिए । मोदीसँगको बैठकअघि सेना प्रमुखहरुसँग रक्षामन्त्री राजनाथ सिंहले भेट गरेका थिए।

पछिल्लो समय सिमानामा भारतीय र चिनियाँ सेनाबीच तनाव बढेको खबरहरु सार्वजनिक भएका छन्।मे ५ र ६ मा गलवान क्षेत्रमा दुई मुलुकका सेनाबीच हात हालाहाल भएको थियो।

त्यसयता लद्दाखमा चिनियाँ जनमुक्ति सेनाले हवाई अड्डा विस्तार गरेको स्याटलाइट तस्बिरले देखाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। ती तस्बिरमा चीनले लडाकु जेटसमेत राखेको देखिएको बताइएको छ।

त्यस्तै, सिमानाको पाङ्गोङ तालबाट २ सय किमी टाढा रहेको तिब्बतस्थित ङारी गुन्सा विमानस्थलमा पनि निर्माण कार्य भइरहेको बताइएको छ।

यसबीचमा चिनियाँ सेनाले भारतीय सेनाको एउटा टुकडीलाई नै नियन्त्रणमा लिएको खबर पनि बाहिरिएका थिए। तर, त्यसलाई भारतीय सेनाले अस्वीकार गरेको छ।

सन् २०१७ मा दोक्लममा तनाव बढ्दा चीन र भारत दुवै देशले चर्को मिडियाबाजी गरेका थिए। तर, अहिले तनाव बढिरहँदा दुवै मुलुकको राजनीतिक नेतृत्व मौन छ।

चीनको अंग्रेजी भाषाको ट्याबलोइड ग्लोबल टाइम्सले सैन्य स्रोतलाई उधृत गर्दै भारतीय सेनाले लद्दाखमा सीमा अतिक्रमण गरेर किल्लाबन्दी गरेको बताएको थियो।

त्यस्तै चिनियाँ हेलिकोप्टर सीमानजिक आएपछि लद्दाखमा भारतीय सेनाले गस्ती बढाएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए।