स्टाफ नर्स जसले कुनै औषधि नखाइ कोरोनालाई जितिन

काठमाडौं- मुलुकमै पहिलो पटक कोरोना संक्रमण पुष्टि भएकी स्टाफ नर्ससहित कपिलवस्तुका ११ जना कोरोनालाई जितेर घर फर्केका छन्।
कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स सोमबार निको भएर घर फर्केकी हुन्।
बाँकी १० जना सर्वसाधारण आइतबार राति कोरोना अस्पताल बुटबलबाट घर फर्केका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोपाल भण्डारीले लेखेका छन्।
१४ दिन अस्पतालको आइसोलेसन वार्डमा बसेर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि स्टाफ नर्स फर्केकी स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए।
‘थप केही दिन घरमै क्वारेन्टाइनमा रहने गरी अस्पतालको आइसोलेसन वार्डबाट उनलाई बिदा गरिएको हो,’ थापाले भने।
आइसोलेन वार्डमा रहँदासम्म आफूले कुनै प्रकारको औषधि सेवन गर्नु नपरेको नर्सले बताइन्।
घर फर्किएकी उनले आफू कोरोना जितेर आएको बताउँदै घर परिवारसँग आफ्ना अनुभव आदानप्रदान गरिरहेकी छन्।

