निजी क्षेत्रलाई विशेष राहत दिने सरकारको तयारी - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

निजी क्षेत्रलाई विशेष राहत दिने सरकारको तयारी



काठमाडौं- कोरोना महामारीका कारण जारी लकडाउनका कारण समस्यामा परेका निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

आज (सोमबार) राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको प्याकेज व्यवस्था गर्नेमा सरकार जुटिरहेको जानकारी गराए ।

राहत ल्याउने घोषणा गरेका प्रधानमन्त्रीले के कति ल्याउने भन्ने विषय भने खुलाएका छैनन् । उनले राहत सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्ने बताएका छन् ।

मुलुकको अर्थतन्त्र सवल हुनका लागि निजी क्षेत्र सवल हुनुपर्ने विषयमा आफू जानकार रहेको भन्दै उनले अर्थ मन्त्रालयले प्याकेज घोषणा गर्ने बताएका छन् ।

‘निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘शिथिल बन्न पुगेको अर्थ व्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ ।’