ठगीका नटवरलाल: डीएसपी बनेर यसरी चलाए ठगीको साम्राज्य - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ठगीका नटवरलाल: डीएसपी बनेर यसरी चलाए ठगीको साम्राज्य



काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले आफूलाई सशस्त्र प्रहरीको डीएसपी भएको बताउँदै जागिर लगाइदिने भनेर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

महाशाखाबाट खटिएको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका-३ बस्ने ४५ वर्षीय राजकुमार चापागाईलाई पक्राउ गरेको हो।

स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता पदमा जागिर लगाइ दिन्छु भनेर प्रलोभनमा पारेर विभिन्‍न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चापागाईले खरिदार पदको नक्कली परिचय पत्रसमेत बनाइदिएर पीडितहरूबाट उनले एकलाख ८५ हजार रूपैयाँ लिएर ठगी गरेका छन्।

पेप्सीकोलाकी सम्झना के.सी भट्टराईसँग एक लाख २० हजार रूपैयाँ लिदै गर्दा पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ।

जग्गाको कारोवार गर्दै आएका चापागाई यसअघि पनि ठगी गरेकै आरोपमा नख्खु कारागारमा ४ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्तिले उच्चपदस्थ अधिकारीहरुको पीए भएको भन्दै कारागार तथा जिल्ला प्रशासन कार्यालयहरूमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिने गरेको,आफूलाई प्रहरीको उच्च अधिकृत हुँ भनी व्यक्तिहरुलाई धम्क्याउने समेत गरेका थिए।

जागिरका साथै नेपाली सेनाको स्कूलमा छोराछोरी भर्ना गराइदिने र सवारी चालक अनुमति पत्रसमेत बनाइदिने भनेर पनि उनी रकम असुलीमा सक्रिय थिए।

प्रहरीले उनको साथबाट रामबहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को नक्कली परिचय पत्र, खरिदार पदको नक्कली परिचय पत्र, बा. ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर, मोबाईल थान, विभिन्‍न व्यक्तिहरूको पासपोर्ट साईजको फोटोहरु र एक लाख २० हजार नगद बरामद गरेको छ।