एसडी मुनिलाई गगन थापाको जवाफ: नेपालको क्षमतामाथि अनावश्यक प्रश्‍न नगर - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एसडी मुनिलाई गगन थापाको जवाफ: नेपालको क्षमतामाथि अनावश्यक प्रश्‍न नगर



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले लिम्पियाधुरा‚ लिपुलेक र कालापानी नेपालको क्षेत्र भएकाले नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्‍न नगर्न भारतीय प्राध्यापक एसडी मुनिलाई चेतावनी दिएका छन् ।

बिहीबार ट्विट गर्दै मुनिले नेपालको निर्णय क्षमतामाथि प्रश्‍न उठाएपछि सांसद थापाले उनलाई यस्तो चेतावनी दिएका थिए । मुनिलाई मेन्सन गर्दै थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको भन्दै यसमा आफूले सशक्त रूपमा सरकारको साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

थापाले जवाफ दिँदै लेखेका छन, “लिम्पियाधुरा‚ लिपुलेक र कालापानी नेपालको क्षेत्रभित्र पर्छ भन्ने कुरामा प्रष्ट हुनुहोस् । यो विषयमा हामी सशक्त रूपमा सरकारको पक्षमा उभिनेछौं ।

नेपाल मामलाका जानकारका रूपमा भारतमा हेरिने उनले प्रधानमन्त्री केपी ओलीले भारतलाई खिल्ली उडाउँदै ‘इन्डियन भाइरस’ भन्दै गर्दा उनले ठूलो गल्ती गरेको टिप्पणी गरेका थिए ।

त्यस्तै, उनले यो चाइनिज भाइरस भएको भन्दै लेखेका छन्, “आशा छ उनले चिनियाँ प्रतिक्रियाबाट राजनीतिक स्वार्थपूर्तिका लागि एकपक्षीय रूपमा बिनासर्वेक्षण नक्सा जारी गर्दा त्यस्तो नक्सा त्याज्य हुने रहेछ भन्ने जानिसकेका छन् ।”

थापाले जवाफमा प्रधानमन्त्रीद्वारा भाइरससम्बन्धी दिइएको अवैज्ञानिक मन्तव्यलाई आफूले पनि अस्वीकार गर्ने बताएका छन । तर, नेपाली अतिक्रमित भूमिका सम्बन्धमा सरकारको साथमा रहने थापाको भनाइ छ ।