प्रधानाध्यापक थिए गुल्मीका संक्रमित व्यक्ति: अवस्था गम्भीर
गुल्मी- आज (सोमबार) कोरोना पुष्टि भएका गुल्मीका एक व्यक्ति विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार संक्रमित व्यक्ति मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् । अहिले प्रधानाध्यापकको घर शिल गर्ने तयारी भइरहेको मदाने गाउँपालिकाले जनाएको छ ।
शिक्षण पेसामा आवद्ध उनी धेरै दिनदेखि घरैमा भएकाले ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताएका छन् । उनले भने, ‘कसरी कोरोना लाग्यो, हामी अचम्ममा छौं ।’
उनको सम्पर्कमा धेरै जना रहेकाले तत्काल परीक्षणको व्यवस्था गर्न लागिएको वडाध्यक्ष तोकम कुँवरले जानकारी दिएका छन् । गुल्मीमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
उनी केही दिन पहिलेदेखि नै बिरामी थिए । ज्वरो आएपछि घरमै रहेका उनले स्थानीय क्लिनिकबाट ज्वरोको औषधि किनेर खाइरहेका थिए ।
तर औषधि खाँदा पनि सञ्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क पठाइएको थियो । उनी ३१ गते आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धीखर्क गएका थिए । त्यहाँको अस्पतालले उनलाई ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो ।
संक्रमितको अवस्था गम्भीर, भेन्टिलेटरमा उचार हुँदै
गुल्मीका कोरोना भाइरस संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वास प्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।