वुहानमा निकै पहिले भेटिएको थियो कोरोना: लुकाइएका थिए यस्ता तथ्य
एजेन्सी- अहिले विश्वभर महामारी बनेको कोरोना भाइरस चीनमा भने सार्वजनिक गरिएको समय भन्दा धेरै पहिले संक्रमण भैसकेको खुलासा भएको छ । वुहान शहरमा सन् २०१९ को अक्टोबर महिनामै एक खेल प्रतियोगितामा भाग लिएका खेलाडीहरू बिरामी परेको खुलासा भएको हो ।
चीनले डिसेम्बर महिनामा मात्र कोरोनाभाइरसको नयाँ स्ट्रेन देखिएको र मानिसबाट मानिसमा सर्ने गरेको भनी निकै पछि मात्र स्वीकार गरेको भए पनि त्यसभन्दा दुई महिनाअगावै त्यो देखिएको पाइएको छ ।
अक्टोबर महिनामा वर्ल्ड मिलिटरी गेम्स प्रतियोगितामा १०० भन्दा बढी देशका लगभग १० हजार प्रतियोगीले भाग लिएका थिए । जर्मनीको भलीबल टोलीकी खेलाडी ज्याकलिन बोकले वुहानमा आफू र आफ्ना साथीलाई कोभिड–१९ लागेको बताइन् ।
‘केही दिनपछि मेरो टोलीका केही खेलाडीहरू बिरामी परे,’ उनले भनिन् । ‘म अन्तिम दुई दिनमा बिरामी परें ।’ उनी देश फर्केपछि उनका पिता पनि बिरामी परे ।
‘मलाई यसअघि यस्तो गाह्रो कहिले पनि भएको थिएन । कि त त्यो कडा रुघा थियो कि त कोभिड–१९ थियो ।’
अनि फ्रान्सको पेन्टाथलिट खेलाडी एलोडी क्लाउभेलले पनि उनी र उनका पार्टनर भ्यालेन्टिन बेलाउदलाई उक्त प्रतियोगितामा नै भाइरस संक्रमण भएको बताइन् । इटलीका फेन्सिङ खेलाडी म्यात्तियो ताग्लिआरिओलले वुहानमा रहेको अपार्टमेन्टमा सबैजना कोभिड–१९ कै जस्तो लक्षण देखिएर बिरामी परेको बताए । पछि त्यो संक्रमण उनको छोरो र प्रेमिकामा पनि सरेको थियो ।
बेलायतको डेली मेल पत्रिकाको मेल अन सन्डेले उक्त प्रतियोगितामा भाग लिएका अन्य खेलाडीसँग पनि सम्पर्क गरेको थियो । तीमध्ये केहीले कुनै टिप्पणी नगर्नू भनी आफूहरूलाई बताइएको जानकारी दिए ।
लक्जेम्बर्गका ट्रायथलिट ओलिभर गोर्जेजले आफू रुघा जस्तो लक्षणका साथ बिरामी परेको र यसै हप्ता एन्टीबडी परीक्षण गर्न लागेको बताए । आफूलाई त्यतिबेला कोरोनाभाइरस लागेको थियो कि भनी उनी जाँच्न खोज्दैछन् ।