विदेशबाट नेपाली ल्याउन तत्काल सम्भव छैन: प्रधानमन्त्री कार्यालय
काठमाडौं- विदेशमा अलपत्र नेपालीलाई उद्दार गर्नेबारे हल्ला चलिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने तत्काल उद्दार सम्भव नभएको संकेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायण बिडारीले पर्याप्त क्वारेन्टाइन नबनाइकन खाडी मुलुक तथा भारतमा रहेका नेपालीको उद्धार गर्न नसकिने बताएका छन्।
बिडारीले खाडी मुलुकबाट दैनिक ६ हजार र भारतबाट दैनिक तीन हजारको संख्यामा नेपालीको उद्धार गर्न सकिने परराष्ट्र मन्त्रालयको प्रस्तावबारे छलफल भैरहेको तर पर्याप्त तयारी गरेपछि मात्र उद्दार सम्भव हुने बताए।
‘परराष्ट्र मन्त्रालयका अधिकारीहरूले खाडी तथा भारतमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्नुपर्ने बारेमा छलफल गर्नुभएको हो, यसमा के कसो गर्न सकिन्छ भनेर प्रस्ताव आएको हो,’ बिडारीले भने।
बिडारीका अनुसार त्यसरी नेपाली नागरिक उद्धार गर्दा राख्ने ठाउँ ‘क्वारेन्टाइन’को व्यापक विस्तार गर्नुपर्ने सुझाव समितिमा आएको छ।
‘पर्याप्त क्वारेन्टाइन निर्माण नगरीकन अहिले त्यो सम्भव छैन भन्ने कुरा भयो,’ बिडारीले भने। विदेशबाट नेपाली ल्याउने विषयमा उपयुक्त ‘मोडालिटी’ बनाउनुपर्ने राय समितिमा पेश भएको छ।
आइतबार बसेको कोरोना भाइरस नियन्त्रण तथा न्यूनीकरण उच्चस्तरीय समिति बैठकले चार वटा निर्णय गरेको छ। त्यसमा अहिले कायम लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन मन्त्रिपरिषदमा सिफारिस गर्ने पहिलो निर्णय छ।
यस्तै, शान्ति सुरक्षामा प्रहरी प्रशासनको भूमिका थप कडाइसाथ लागू गर्न निर्देशन गर्ने निर्णय भएको छ। बाटोमा ढाट राख्ने, सर्वसाधारणलाई दुर्व्यवहार गर्ने कार्य बन्द गर्न बैठकले निर्देशन दिने निर्णय गरेको बिडारीले बताए।
यस्तै, अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको कमी हुन नदिन हालसम्म भइरहेका कदमलाई यथावत् कायम दिने निर्णय भएको छ।
त्यस्तै स्थानीय तह, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनहरूलाई सुविधासम्पन्न र सरकारले तोकेको मापदण्डअनुसारको बनाउने पनि निर्णय भएको बिडारीले बताए।