अमेरिकामा कम भयो कोरोना महामारी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अमेरिकामा कम भयो कोरोना महामारी



काठमाडौं- विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोरोनाको महामारी केहि कम भएको छ। कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शनिबार केही घटेको छ । शनिबार कोभिड–१९ बाट अमेरिकामा झण्डै ११ सय जनाको ज्यान गएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको कुल संख्या ८८ हजार सातसय भन्दा बढी पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १४ लाख ६६ हजार भन्दा बढी रहेको छ ।

कोरोना भाइरसको महामारीको प्रभाव पछिल्ला दिनमा ब्राजिलमा उकालो लाग्ने क्रममा छ । केही दिनदेखि दैनिक ८ सय भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ । त्यहाँ शनिबार पनि ८ सय भन्दा बढीको ज्यान गएको छ ।

अहिलेसम्म ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ कुल संक्रमितको संख्या दुई लाख ३३ हजार भन्दा बढी पुगेको छ । शनिबार एक दिन झण्डै १५ हजार संक्रमित थपिएका हुन् ।

शनिबार स्पेनमा १०४, इटालीमा १५३ तथा फ्रान्समा ९६ जनाको मृत्यु भयो । यी देशमा मृत्यु हुनेको कुल संख्या क्रमशः २७ हजार ५६३, ३१ हजार ७६३ र २७ हजार ६२५ रहेको छ ।

अमेरिकापछि सबै भन्दा धेरैको ज्यान गएको बेलायतमा शनिबार थप ४६८ जनाको कोभिड–१९ बाट मृत्यु भयो । त्यहाँ अहिलेसम्म ३४ हजार ४६६ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या तीन लाख ११ हजार चार सय भन्दा बढी छ । यस्तै कुल संक्रमितको संख्या ४६ लाख २९ हजार भन्दा बढी पुगेको छ ।