चीनले नेपाललाई उचालेर भारतको विरोध भैरहेको भारतीय सेना प्रमुखको आरोप - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

चीनले नेपाललाई उचालेर भारतको विरोध भैरहेको भारतीय सेना प्रमुखको आरोप



एजेन्सी- नेपाली भूमि लिपुलेक हुँदै मानसरोवरसम्म जाने सडक भारतले उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाएको छ।

नेपालले भारतीय कदमप्रति आपत्ति जनाउनुमा चीनको भूमिका रहेको आरोप भारतीय सेना प्रमुख जनरल एम एम नरवनेले लगाएका छन्। मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालिसिस, नयाँ दिल्लीस्थित थिन्क ट्यांकले आयोजना गरेको अनलाइन सम्मेलनलाई सम्बोधन गर्दै नरवनेले यस्तो आरोप लगाएका हुन्।

‘काली नदीपूर्वमा नेपाली क्षेत्र छ र पश्‍चिमतर्फ भारतीय क्षेत्र हो। यसमा कुनै विवाद छैन’, उनले भनेका छन्, ‘हामीले बनाएको सडक नदीको पश्‍चिममा छ। आन्दोलन के उद्देश्यले भइरहेको छ? त्यसबारेमा थाहा पाउन सकेका छैनौं।’

उनले सडक खनिएको क्षेत्रमा त्यस्तो कुनै समस्या नै नरहेको जिकिर गरेका छन्। ‘मलाई थाहा छैन, वास्तवमा के को लागि आपत्ति जनाएका हुन्’, उनले अगाडि भने, ‘विगतमा यस विषयमा केही समस्या थिएन। के कारण उनीहरूले समस्या उत्पन्‍न गराइरहेको हो? बुझ्‍न सकेको छैन । कसैको इशारामा भारतको विरोध गरिरहेको धेरै सम्भावना छ।’

भारतीय सेना प्रमुखले नेपालले विरोध गर्नुपछाडि चीनको भूमिका रहेको आशंका गरेका छन्। उनले भारतले दिने गरेको सल्लाहलाई पनि नेपाले बेवास्ता गरेको गुनासो गरेका छन्। भारतीय सेनाले खनेको बाटो चीनको सीमा क्षेत्रमा पुग्‍न ५ किलोमिटर बाँकी रहेकै अवस्थामा उक्त सडक रक्षामन्त्री सिंहले उद्घाटन गरेका छन्।

भारतले दुई साताअघि नेपाली भूमि लिपुलेक हुँदै सडक खोलेपछि नेपालले कडा आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्‍वात्रालाई कूटनीतिक नोट पठाएर आपत्ति जनाइसकेको छ।

मे ९ मा भारतीय तीर्थयात्रीहरूको लागि रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै कैलाश मानसरोवर पुग्‍ने सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए। नेपालले त्यसपछि राजदूत क्‍वात्रालाई पठाएको कूटनीतिक पत्रमा भनिनएको छ, ‘नेपालको भूमि भित्र अवाञ्छित गतिविधि गर्न रोकियोस्।’