कृषिमा आधुनिकरणको लागि किसानलाई अनुदानमा पावर टेलर - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कृषिमा आधुनिकरणको लागि किसानलाई अनुदानमा पावर टेलर



विशाल पाण्डेय/कैलाली-
घोडाघोडी नगरपालिकाका किसानलाई पावर टेलर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाद्बारा ५० प्रतिशत अनुदानमा १४ जना कृषकहरुलाई पावर टेलर वितरण गरिएको हो ।

कृषि ज्ञान केन्द्र कंचनपुरको सहयोग तथा घोडाघोडी गहुँ बल्कको आयोजनामा परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई १४ वटा हाते ट्याक्टर बितरण गरिएको घोडाघोडी गहु ब्लक संचालक समितिका संयोजक दिनेश सापकोटाले बताए । उनले शान्तिनगर कृषि सहकारी अन्तरगतका शेयर सदस्यहरुलाई आधुनिक कृषि खेती गर्नको लागि अनुदानमा उपलब्ध गराएको जानकारी दिए ।

लकडाउनले गर्दा कृषि सामाग्री नहुदा अहिले पावर टेलर मात्र उपलब्ध भएपनी केहिदिन पछि ट्याक्टर ,ट्राली ,रोटाभेटर लगायतका सामाग्री उपलब्ध हुने र उक्त सामाग्री सहकारी मार्फत संचालनमा ल्याइने संयोजक सापकोटाले बताए ।

परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन तिनै तहको सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए ।

कृषिलाई आधुनिकरण र विकास गर्नको लागि कृषिमा यान्त्रिकिकरण र सिचाइको प्रवन्ध तथा समयमै मल, बीउ विजन उपलब्ध गराउन आवस्यक रहेको हुदा नगरपालिकाले आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमिकतामा राखिने नगर प्रमुख चौधरीले बताए । उनले बिचौलियाहरुले गर्दा कृषकहरु मारमा परेको हुँदाबजार ब्यवस्थापनमा पनि ध्यान दिने बताए ।

आफुहरुले खरिद गर्दा धेरै पैसा लाग्ने हुदा सहकारी मार्फत ५० प्रतिशत अनुदानमा पाउँदा निकै खुशी लागेको कृषक मनिराम चौधरीले बताए । खेतीपाती गर्ने समयमा अनुदानमा पावर टेलर उपलब्ध गराइएको भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।