संविधानमै नेपालको नक्सा छैन, सांसदले लगाएको लोगोमा पनि गलत नक्सा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

संविधानमै नेपालको नक्सा छैन, सांसदले लगाएको लोगोमा पनि गलत नक्सा



काठमाडौं- नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन।

९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

२०६४ को संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ मा संविधान जारी गरिएको थियो। दुई वर्षमा संविधान बनाउने वाचा गरेका राजनीतिक दलले आठ वर्षमा संविधान त बनाए तर त्यहाँ नेपालको नक्सा राख्न बिर्सिए।

नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ मुलुकको मुल कानुन बनाउँदा राष्ट्रियता, सर्वोभौमसत्तासँग जोडिएको विषयमा जनप्रतिनिधि गम्भीर नहुनु ठूलो गल्ती भएको बताउँछन्।

‘देशको मूल कानुन बनाउँदा जनप्रतिनिधि राष्ट्रियता, सर्वोभौमसत्ता, स्वाधीनताप्रति जिम्मेवार भएको देखिएन’, उनी भन्छन्, ‘यो गम्भीर गल्ती हो।’

संविधान संशोधन गरी उक्त गल्ती तत्काल सुधार्नु विकल्प नरहेको उनको ठम्याइ छ। ‘नेपालका मन्त्री, सांसद गलत नक्सा भएको लोगो छाती लगाएर राष्ट्रियताको कुरा गरिरहनुभएको छ’, उनी भन्छन्, ‘यो लोगो पनि तत्काल सुधार गर्नुपर्छ।’

उनका अनुसार सम्पूर्ण निसान छापमा गलत नक्सा भएका कारण सरकारी लेटरप्याडमा सुधार गर्नुपर्ने देखिएको छ। संविधान संशोधनमा जाँदा तराई÷मधेसका मुद्दा पनि आउने भएकाले सरकार झस्किरहेको उनको भनाइ छ।